फाइनान्सहरूको वित्तीय स्थिति झनै बिग्रियो, निष्क्रिय कर्जा ४० प्रतिशतसम्म 

विर्तामोड, ९ माघ ।
सेयर बजारमा मूल्य उतारचढावबाट सबैभन्दा धेरै लाभ वा नोक्सानी फाइनान्स सेक्टरमा रहँदै आएको छ । मूल्य उच्च दरमा बढ्ने र घट्दा पनि उच्च दरले घट्ने सेक्टरका रुपमा फाइनान्स परिचित छ ।
सबै फाइनान्स कम्पनीहरूले दोस्रो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरिसकेका छन् । सार्वजनिक अपरिस्कृत विवरण अनुसार समग्रमा फाइनान्सहरुको वित्तीय स्थिति झनै बिग्रिएको छ ।
सञ्चालनमा रहेका १५ वटा फाइनान्स कम्पनीमध्ये चालु आर्थिक वर्ष पुस मसान्तसम्म ७ कम्पनी नोक्सानमा छन् । बाँकी ८ कम्पनीले नाफा कमाएका छन् । गत वर्ष यसै अवधिमा जम्मा ५ कम्पनी नोक्सानमा थिए भने १० कम्पनी नाफामा थिए ।
पुस मसान्तसम्मको ६ महिने अवधिमा १५ वटै फाइनान्स कम्पनीको खुद नाफा ७३ करोड २ लाख रुपैयाँ ऋणात्मक छ, अर्थात् समग्रमा फाइनान्स कम्पनीहरुको नोक्सानी ७३ करोड रुपैयाँ छ । जबकि पहिले यसै अवधिमा नाफा ७ करोड ८६ लाख रुपैयाँ धनात्मक थियो ।
६ महिनामा एउटै फाइनान्स कम्पनीको नोक्सानी ६३ करोड रुपैयाँसम्म पुगेको छ । पोखराले लोनलस प्रोभिजनवापत १ अर्ब रुपैयाँ छुट्यानु परेपछि नोक्सानी उच्च देखिएको छ ।
नाफा वृद्धिका आधारमा नेपाल फाइनान्स सबैभन्दा अगाडि देखिएको छ । सो फाइनान्सको खुद नाफा समीक्षा अवधिमा २५ गुणाले बढेको छ । ६ महिनामा सबैभन्दा धेरै नाफा कमाउनेमा मञ्जुश्री फाइनान्स छ, जसले ११ करोड ७० लाख नाफा कमाएको छ ।
नोक्सानी बढेपछि यो सेक्टरका कम्पनीहरुको औसत प्रतिसेयर आम्दानी समेत ऋणात्मक भएको छ । जानाकीको ७१ तथा  पोखराको प्रतिसेयर आम्दानी ११७ रुपैयाँ ऋणात्मक छ भने प्रोग्रेसिभको सबैभन्दा धेरै २० रुपैयाँ छ ।
१५ कम्पनीमध्ये २ वटाको मात्रै निष्क्रिय कर्जा घटेको छ । नेपाल र प्रोग्रेसिभको निष्क्रिय कर्जा सामान्य घटेको छ । बाँकी १३ कम्पनीको बढेको छ ।
पुस मसान्तसम्म कुल कर्जामा फाइनान्स कम्पनीहरुको औसत निष्क्रिय कर्जा १२.४ प्रतिशत छ । गत पुस मसान्तसम्मको तुलनामा यो निष्क्रिय कर्जा करिब दोब्बर हो । गत पुस मसान्तसम्म औसत निष्क्रिय कर्जा ६.९९ प्रतिशत थियो ।
जानाकी फाइनान्सको निष्क्रिय कर्जा सबैभन्दा धेरै ४०.८८ प्रतिशत पुगेको छ । त्यस्तै पोखराको ३३ तथा समृद्धिको १९ पुगेको छ । ०००००
 

प्रतिकृया दिनुहोस