जीवनराम श्रेष्ठ नेतृत्वको नेपाल ओलम्पिक कमिटीमाथि गतिविधि गर्न सरकारको प्रतिबन्ध

विर्तामोड, १८ माघ ।
सरकारले जीवनराम श्रेष्ठ नेतृत्वको नेपाल ओलम्पिक कमिटी एनओसीमाथि गतिविधि गर्न प्रतिबन्ध लगाएको छ । 
अदालतको आदेश, सरकारको निर्देशन र अन्तराष्ट्रिय ओलम्पिक कमिटीको स्वीकृति बेगर एकलौटी निर्वाचन गराएर आफुलाई अध्यक्षमा घोषणा गरेका जीवनराम श्रेष्ठ समूहलाई सरकारले ओलम्पिक गतिविधिमा पूर्णत रोक लगाएको हो । 
श्रेष्ठ नेतृत्वको ओलम्पिक कमिटीले आज दक्षिण एसियाली खेलकुद प्रतियोगिताको सन्दर्भमा खेलकुद संघसँग छलफल कार्यक्रम राखेको थियो । प्रहरी प्रशासनले प्रवेश निषेध गरेर ओलम्पिक भवनलाई आफ्नो नियन्त्रणमा लिएको थियो । 
अवैधानिक चुनावबाट आफुलाई अध्यक्षमा घोषणा गरेका जीवनराम श्रेष्ठले संस्थागत गतिविधि अघि बढाउन प्रयास गरेका थिए । तर, सरकारले प्रहरी प्रशासन परिचालन गरेर तत्काललाई जीवनराम श्रेष्ठ समूहको ओलम्पिक गतिविधि रोक्ने कदम अघि बढाएको छ । 
खेलकुदको कार्यकारी निकाय राष्ट्रिय खेलकुद परिषद्को १ सय १९ औं बोर्ड बैठकले ओलम्पिक निर्वाचनलाई अवैध ठहर गर्दै आवश्यक कारबाही प्रक्रियालाई अघि बढाउने निर्णय गरेको थियो । बोर्ड बैठकले नेपाल ओलम्पिक कमिटीको बैंक खाता रोक्का गर्नेदेखि सरकारी सुविधा रोक्नेसम्मको निर्णय गरेको थियो । सोही अनुसार ओलम्पिक कार्यालय प्रवेशमा रोक लगाउने विषय कार्यान्वनयमा गएको हो । 
खेलकुद मन्त्रालयका एक अधिकारीले नेपाल ओलम्पिक कमिटीलाई कारबाही गर्ने निर्णय अनुसार ओलम्पिक भवन प्रवेशमा रोक लगाइएको बताएका छन् । सरकारले नेपाल ओलम्पिक कमिटी सहित ओलम्पिक निर्वाचनमा सहभागी खेलकुद संघलाई समेत कारबाही गरेर बैंक खाता रोक्कादेखि विदेशमा हुने कार्यक्रममा सहभागी हुन नदिनेसम्मको तयारी गरेको छ । ‘बोर्ड बैठकको निर्णय कार्यान्वयनमा गएको हो । अरु विषय विस्तारै कार्यान्वयनमा आउँछ’, मन्त्रालयका अधिकारीले भनेका छन् । 
स्रोतका अनुसार बैठकको निर्णय कार्यान्वनयमा मन्त्रालय आफैले सक्रियता देखाएर गतिविधि अघि बढाएको छ । 
नियम अनुसार ओलम्पिकबाट बाहिरिनुपर्ने अध्यक्ष जीवनराम श्रेष्ठले जबर्जस्ती विधान संशोधन गरेर तेस्रो पटक अध्यक्ष बन्न खोजेपछि नेपालको ओलम्पिक विवादको केन्द्रमा तानिएको छ ।
विधान संशोधन र चुनाव रोक्न उच्च अदालत पाटन र सर्वोच्च अदालतको आदेश सहित सरकारको निर्देशनलाई बेवास्ता गर्दै जीवनराम श्रेष्ठले अनलाइनबाट जबर्जस्ती चुनाव गरेपछि नेपालको ओलम्पिक अभियानमा गम्भिर धक्का पुगेको छ । 
ओलम्पिकमा टासिरहने जीवनराम श्रेष्ठको पदलोलुपतामाथि प्रश्न गर्दै ७ खेल संघले निर्वाचनलाई बहिष्कार गरेका थिए ।
कार्यसमितिमा निर्विरोध निर्वाचित भनिएका उपाध्यक्षद्धय अनिल शर्मा र प्रकाश शमशेर राणा तथा सदस्य मनिष जोशीले ओलम्पिक बहिष्कार गर्दै नाम फिर्ता लिएका छन् । ००००००

प्रतिकृया दिनुहोस