आन्तरिक राजस्व कार्यालय भद्रपुरबाट एक अर्ब ९८ करोड राजस्व सङ्कलन

भद्रपुर (झापा), १२ चैत ।
आन्तरिक राजस्व कार्यालय भद्रपुरले चालु आर्थिक वर्षको आठ महिनामा एक अर्ब ९८ करोड ९४ लाख ६८ हजार रुपैयाँ राजस्व सङ्कलन गरेको छ । उक्त रकम गत आर्थिक वर्ष २०८०÷०८१ को सोही अवधिको तुलनामा आठ प्रतिशतले बढी हो । 
कार्यालयको तथ्याङ्क अनुसार गत आर्थिक वर्ष २०८०÷०८१ को सोही अवधिमा एक अर्ब ८४ करोड १७ लाख १५ हजार रुपैयाँ राजस्व सङ्कलन भएको प्रमुख कर अधिकृत कृष्णचन्द्र काफ्लेले जानकारी दिनुभयो । आन्तरिक राजस्व कार्यालयले चालु आर्थिक वर्षमा चार अर्ब ६१ लाख रुपैयाँ राजस्व सङ्कलन गर्ने लक्ष्य लिएको छ । 
गत आर्थिक वर्षभन्दा राजस्व सङ्कलन बढे पनि चालु आर्थिक वर्षको आठ महिनाको लक्ष्यको ८४ प्रतिशत राजस्व सङ्कलन भएको छ । कार्यालयले आठ महिनामा आयकरबाट ८९ करोड २७ लाख ८५ हजार रुपैयाँ, ब्याजबापत ६ करोड ९० लाख ९० हजार रुपैयाँ, मूल्य अभिवृद्धि करबापत ६६ करोड ६५ लाख १५ हजार रुपैयाँ र अन्तःशुल्कबापत ३३ करोड १८ लाख ४५ हजार रुपैयाँ राजस्व सङ्कलन गरेको छ ।
अन्तःशुल्क तिर्ने प्रतिष्ठानको नियमित अनुगमन र निगरानीले गर्दा चालु आर्थिक वर्षको आठ महिनामा गत वर्ष सोही अवधिको तुलनामा ४३ दशमलव ७९ प्रतिशत अन्तःशुल्क वृद्धि भएको प्रमुख कर अधिकृत काफ्लेले बताउनुभयो । 
कार्यालयले राजस्व सङ्कलनको लक्ष्य हासिल गर्न निरन्तर बजार अनुगमन र निगरानी गरिरहेको छ । यसका साथै कर बक्यौता राख्ने करदाताको बैंक खाता रोक्का गर्ने, जग्गा रोक्का गर्नेलगायत कानुनी कारबाही गर्ने गरिएको उहाँले बताउनुभयो । ०००००००  

प्रतिकृया दिनुहोस