राजावादीको हिंसात्मक आन्दोलनमा एक सयभन्दा धेरै पक्राउ, क्षतिको विवरण सङ्कलन हुँदै 

काठमाडौं, १६ चैत ।
हिजो काठमाण्डौमा भएको हिंसात्मक आन्दोलनमा सहभागी भएको आरोपमा एक सयभन्दा धेरै पक्राउ परेका छन् । तीनकुनेमा दुर्गा प्रसाईंको नेतृत्वमा भएको प्रदर्शनमा तोडफोड, लुटपाट, आगजनी र हत्या समेत भएको भन्दै प्रहरीले संलग्न भएकाहरूलाई पक्राउ गरिरहेको हो । पक्राउ पर्नेहरुमा रवीन्द्र मिश्र, धवल शमशेर राणा, स्वागत नेपाल, विवादास्पद धर्मगुरु पुष्कर खतिवडा लगायत छन् ।
जिल्ला प्रहरी परिसर काठमाण्डौ, मातहतका वृत्तहरू, काठमाण्डौ उपत्यका अपराध अनुसन्धान कार्यालय र अन्य प्रहरी कार्यालयका प्रहरी परिचालन गरेर पक्राउ गर्ने काम भइरहेको जिल्ला प्रहरी परिसर काठमाण्डौका एसपी अपिलराज बोहराले जानकारी दिनुभयो । पक्राउ परेका व्यक्तिहरू सीसीटीभी फुटेज, भिडिओ, फोटो लगायतमा देखिएकाहरू हुन् । को माथि कस्तो मुद्दा चलाउने भन्ने निर्णयका लागि छानविन भइरहेको प्रहरीले जनाएको छ ।
प्रहरीले फरार भएका दुर्गा प्रसाईंको पनि खोजी गरिरहेको छ । यस्तै प्रहरीसहितको टोलीले क्षतिको मूल्याङ्कन पनि गरिरहेको छ । बिहान गृहमन्त्री रमेश लेखकले पनि स्थलगत अवलोकन गर्नुभएको छ । आज अवस्था सामान्य रहे पनि निगरानी भने बढाइरहेको प्रहरीले जनाएको छ ।
काठमाण्डौका प्रमुख जिल्ला अधिकारी ऋषिराम तिवारीका अनुसार हिजो भएको प्रदर्शनमा नेपाल प्रहरीका ५३ जना र सशस्त्र प्रहरीका २४ जना घाइते भएका छन् । यस्तै ३५ जना प्रदर्शनकारी घाइते भएका छन् । एक जना पत्रकार र एक जना प्रदर्शनकारीको ज्यान गएको छ । सात वटा सरकारी र नौ वटा नीजि गाडीमा क्षति पुगेको छ । १४ ठाउँमा आगजनी, आठ ठाउँमा तोडफोड र एक ठाउँमा लुटपाट भएको छ ।
आन्दोलन समितिका संयोजक नवराज सुबेदीले विज्ञप्ति निकालेर प्रहरीको दमनका कारण अप्रिय घटना भएको दाबी गरेका छन् । राप्रपाले रवीन्द्र मिश्र र धवलसमसेर राणाको भूमिकाप्रति आपत्ती जनाउँदै पार्टीको बैठक बोलाएको छ ।
राष्ट्रिय स्वतन्त्र पार्टीले उच्च न्यायिक छानविन आयोग गठन गर्न माग गरेको छ । कांग्रेस, एमाले र नेकपा माओवादी लगायतका दलहरुले हिंसात्मक कार्यमा संलग्नहरुलाई कारबाहीको माग गरेका छन् । यसैबीच गृहमन्त्री रमेश लेखकले राजावादीहरुले गरेको आक्रमण र हत्याको कानून अनुसार कारबाही हुने बताउनुभएको छ । ०००००
 

प्रतिकृया दिनुहोस