नेपाललाई क्षेत्रीय आइटी हब बनाउन सकिन्छ : मन्त्री गुरुङ

काठमाडौँ, १८ चैत ।
सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले नेपाललाई क्षेत्रीय आइटी हबका रुपमा विकास गर्न सकिने धारणा व्यक्त गर्नुभएको छ । 
एसिया प्यासिफिक टेलिकम्युनिटी (एपिटी), सञ्चार तथा सूचना प्रविधि मन्त्रालय र नेपाल दूरसञ्चार प्राधिकरणद्वारा आज आयोजित ३४औँ मिटिङ अफ द एपिटी वायरलेस ग्रुपको कार्यक्रममा उहाँले यसका लागि मन्त्रालय निजी क्षेत्रसँग सहकार्य गर्न तयार रहेको बताउनुभयो । 
आइटी हबको विकासका लागि आर्टिफिसियल इन्टेलिजेन्स (एआई)सम्बन्धी नीति ल्याउने तयारी गरिरहेको उल्लेख गर्दै उहाँले प्रमुख सहरमा फाइभजी सेवा विस्तार गर्ने योजना रहेको उल्लेख गर्नुभयो । “आगामी आर्थिक वर्षको अन्त्यसम्म सबै स्थानीय तहमा ब्रोडब्यान्ड सेवा विस्तार र मुलुकका प्रमुख सहरमा फाइभजी सेवा विस्तार गर्छौ”, उहाँले भन्नुभयो ।
नेपाल सरकारका प्रवक्ता समेत रहनुभएका मन्त्री गुरुङले प्रभावकारी सञ्चार आर्थिक वृद्धि, अन्तरआबद्धता र नवीनताका लागि जरुरी भएको बताउनुभयो । उहाँले भन्नुभयो, “वायरलेस प्रविधि नेपाल जस्तो पहाडी र हिमाली देशका लागि वरदान हो । सूचना प्रविधि र डिजिटल अर्थतन्त्रको सम्भावना भएका क्षेत्रलाई एकीकृत गर्ने समय आएको छ ।”
उहाँले नेपाललाई क्षेत्रीय आइटी केन्द्रका रुपमा विकास गर्न एपिटीसँग सहकार्य जरुरी भएको बताउनुभयो । उहाँले नेपाल डिजिटाइजेसनलाई बढावा दिन, स्पेक्ट्रम दक्षता प्रवद्र्धन गर्न र नयाँ पुस्ताको सञ्चार प्रविधि अँगाल्न तयार रहेको समेत बताउनुभयो । 
त्यस अवसरमा सञ्चार मन्त्रालयका सचिव राधिका अर्यालले नेपालले सूचना प्रविधिको विस्तार तथा विकासमा फड्को मार्दै गइरहेको बताउनुभयो । उहाँले यसका लागि मन्त्रालयले काम गरिरहेको उल्लेख गर्नुभयो । 
एपिटीका महासचिव मासानोरी कोन्डोले स्पेक्ट्रम हार्मोनाइजेनस, रेडियो कम्युनिकेशन र यसका बहुराष्ट्रिय प्रभावबारे छलफलका लागि यो एक सशक्त समूह रहेको बताउनुभयो । उहाँले ती विषयमा १२ वटा सिफारिस र १८४ वटा प्रतिवेदन तयार भइसकेको जानकारी दिनुभयो । ०००००
 

प्रतिकृया दिनुहोस