रघुजी पन्त शिक्षामन्त्री नियुक्त, ऊर्जा, जलस्रोत तथा सिँचाइ राज्यमन्त्री पूर्णबहादुर (कान्छाराम) तामाङ बर्खास्त 

बिर्तामोड, १० बैशाख ।
नेकपा एमालेका नेता रघुजी पन्त शिक्षामन्त्री नियुक्त हुनुभएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिशमा राष्ट्रपति रामचन्द्र पौडेलले पन्तलाई आज शिक्षामन्त्री नियुक्त गर्नुभएको हो ।
शिक्षामन्त्री विद्या भट्टराईले अस्ति सोमवार पदबाट राजीनामा दिएपछि रिक्त रहेको पदका लागि सरकारले आजै पन्तको नाम सिफारिश गरेको थियो । पन्तको शपथ ग्रहण भोलि हुनेछ ।
राष्ट्रपतिको कार्यालयले नियुक्ति, हेरफेर र कार्यविभाजनसहितको मन्त्रिपरिषद् पुनर्गठनको सूची सार्वजनिक गरेको छ । 
यसैबीच, प्रधानमन्त्री केपी शर्मा ओलीले ऊर्जा, जलस्रोत तथा सिँचाइ राज्यमन्त्री पूर्णबहादुर (कान्छाराम) तामाङलाई बर्खास्त गर्नु भएको छ । 
प्रधानमन्त्री ओलीविरुद्ध अभिव्यक्ति दिनुभएका उहाँले माफी माग्न अस्वीकार गरेको भन्दै प्रधानमन्त्री ओलीले आज बर्खास्त गर्नु भएको हो ।
नेपाल विद्युत् प्राधिकरणका तत्कालीन कार्यकारी निर्देशक कुलमान घिसिङलाई हटाउन नहुने भन्दै राज्यमन्त्री तामाङले असन्तुष्टि जनाउँदै आउनुभएको थियो ।
मन्त्रालयका सचिव सुरेश आचार्यलाई राज्यमन्त्रीले स्पष्टीकरण सोधेको भन्दै प्रधानमन्त्री ओली राज्यमन्त्री तामाङसँग रुष्ट हुनुहुन्थ्यो । राज्यमन्त्री तामाङले आफू सहभागी कार्यक्रम बहिष्कार गरेको भनेर सचिव आचार्यलाई २४ घण्टे स्पष्टीकरण सोध्नु भएको थियो ।
तामाङ साउन १८ मा नियुक्त हुनुभएको थियो । ००००००
 

प्रतिकृया दिनुहोस