आगामी आर्थिक वर्षका लागि १९ खर्ब ६४ अर्ब ११ करोडको बजेट  

बिर्तामोड, १५ जेठ ।
सरकारले आगामी आर्थिक वर्ष २०८२÷८३ का लागि १९ खर्ब ६४ अर्ब ११ करोड रुपैयाँको बजेट ल्याएको छ । उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आज सङ्घीय संसद्को संयुक्त बैठकमा आगामी आर्थिक वर्षको आय–व्ययको अनुमान पेस गर्नुभएको हो । “आगामी आर्थिक वर्षको बजेटमा चालुतर्फ ११ खर्ब ८० अर्ब ९८ करोड रुपैयाँ अर्थात् ६० दशमलव एक प्रतिशत, पुँजीगततर्फ चार खर्ब सात अर्ब ८९ करोड अर्थात् २० दशमलव आठ प्रतिशत र वित्तीय व्यवस्थापनमा तीन खर्ब ७५ अर्ब २४ करोड अर्थात् १९ दशमलव एक प्रतिशत विनियोजन गरिएको छ”, अर्थमन्त्री पौडेलले बजेट वक्तव्यमार्फत् भन्नुभयो ।
आगामी आर्थिक वर्षको व्ययको अनुमान चालु आर्थिक वर्षको विनियोजनको तुलनामा पाँच दशमलव ६ प्रतिशत र संशोधित अनुमानको तुलनामा १८ दशमलव दुई प्रतिशतले बढी हो । कुल विनियोजनमा प्रदेश र स्थानीय तहका लागि वित्तीय हस्तान्तरणतर्फ चार खर्ब १७ अर्ब ८३ करोड रुपैयाँ विनियोजन गरिएको छ ।
आगामी आर्थिक वर्षका लागि अनुमान गरिएको खर्च व्यहोर्ने स्रोतमध्ये आन्तरिक राजस्वबाट १३ खर्ब १५ अर्ब रुपैयाँ र वैदेशिक अनुदानबाट ५३ अर्ब ४५ करोड रुपैयाँ उठाइने अनुमान गरिएको छ । बाँकी पाँच खर्ब ९५ अर्ब ६६ करोड रुपैयाँ बराबर न्यून हुनेछ । त्यसका लागि आन्तरिक ऋणबाट तीन खर्ब ६२ अर्ब रुपैयाँ र बाह्य ऋणबाट दुई खर्ब ३३ अर्ब ६६ करोड रुपैयाँ व्यहोरिने अर्थमन्त्री पौडेलले बताउनुभयो । ००००००
 

प्रतिकृया दिनुहोस