आगामी आर्थिक वर्षको बजेटले युवाहरूमा आशा जगाएको छ : पूर्व मुख्यमन्त्री राई

बिर्तामोड, १८ जेठ ।

कोशी प्रदेशका पूर्व मुख्यमन्त्री तथा नेकपा (एमाले) कोशी प्रदेश कमिटीका इञ्चार्ज शेरधन राईले संघीय सरकारद्वारा हालै प्रस्तुत गरिएको आगामी आर्थिक वर्षको बजेटले युवाहरूमा आशा जगाएको बताउनुभएको छ ।
ताप्लेजुङ्गको फुङ्लिङमा प्रेस चौतारी नेपालले आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै राईले बजेटले विशेष गरी निराशामा रहेका युवाहरूलाई लक्षित गरी अवसरहरू सिर्जना गर्ने संकेत दिएको उल्लेख गर्नुभयो । “बजेटमा ठूला योजनाहरू समेटिएका छन् । यसले निराशामा रहेका युवाहरूको मनोबल बढाउनेछ,“उहाँले भन्नुभयो ।
राईले कोशीप्रदेश सरकारले पनि आफ्नो नीति तथा कार्यक्रम प्रदेश सभामा प्रस्तुत गरिसकेको जानकारी दिनुभयो । दुई ठूला दलहरूको गठबन्धनमा बनेको प्रदेश सरकारले राजनीतिक स्थायित्वसँगै विकासलाई तीव्रता दिन रणनीति बनाएको उहाँको भनाइ थियो ।
“मैले मुख्यमन्त्री हुँदा सुरु गरिएका योजनाहरू अहिले ८० प्रतिशतसम्म सम्पन्न भइसकेका छन्,“ राईले भन्नुभयो, “प्रदेशका सबै जिल्लामा जनताले अनुभूतिगर्न सक्ने खालका पूर्वाधार विकासका विषयमा निरन्तर छलफल भइरहेको छ ।“
आगामी निर्वाचनको सन्दर्भमा राईले नेकपा (एमाले) देशकै सबैभन्दा शक्तिशाली पार्टीका रूपमा स्थापित हुने दाबी गर्नुभयो । “पार्टीले जेठ महिनादेखि नै संगठन विस्तार र जनसम्पर्क अभियान प्रारम्भ गरिसकेको छ,“ उहाँले भन्नुभयो ।  ००००००
 

प्रतिकृया दिनुहोस