मुख्य प्रशिक्षक स्टुअर्टद्वारा राष्ट्रिय क्रिकेट टोलीको प्रशिक्षण सुरु 

विर्तामोड, १३ बैशाख ।

नेपाली राष्ट्रिय क्रिकेट टोलीका मुख्य प्रशिक्षक स्टुअर्ट लले राष्ट्रिय टोलीलाई प्रशिक्षण दिन शुरु गर्नु भएको छ । 
शुक्रबार राति नेपाल आइपुग्नुभएका अस्ट्रेलियन प्रशिक्षक स्टुअर्ट लले मुलपानीमा रहेको तल्लो क्रिकेट मैदानमा राष्ट्रिय टोलीलाई प्रशिक्षण शुरु गर्नु भएको हो । यो प्रशिक्षणबाट आईसीसी टी–२० विश्वकप छनोट र आईसीसी विश्वकप लिग २ का लागि अन्तिम टोली तयार हुनेछ ।
त्यसअघि भएको पत्रकार सम्मेलनमा प्रशिक्षक स्टुअर्टले नेपाली टोलीको प्रशिक्षण जिम्मेवारी पाउँदा उत्साहित रहेको बताउँदै आफ्ना लागि नयाँ चुनौती भएको उल्लेख गर्नुभयो । एसोसीयट राष्ट्र नेपालको प्रशिक्षकका लागि आवेदन दिनु पछाडिको कारण पनि युवा खेलाडीको प्रतिभा नै भएको उहाँले उल्लेख गर्नुभयो ।
आफूले हार्न नजानेको बताउँँदै नेपालको मुख्य लक्ष्य भनेको फेरि पनि एकपटक नेपाललाई विश्वकपमा पु¥याउनु रहेको प्रतिबद्धता जनाउनुभयो । उहाँले नेपालमा धेरै प्रतिभा, चाहना र जोश भएका खेलाडीहरू देखेको र यहाँको समर्थकहरूमा देखेको क्रिकेटप्रतिको लगावले पनि आफू प्रभावित भएको उल्लेख गर्नुभयो ।
क्यानले स्टुअर्टलाई गएको चैत १५ मा नेपाली टोलीको मुख्य प्रशिक्षकमा नियुक्त गरेको थियो । ५६ वर्षका स्टुअर्ट ल अबको दुई वर्ष नेपाली टोलीसँग रहनुहुने छ । गएको जनवरीमा मोन्टी देशाईसँगको सम्झौता सकिएको थियो । अस्ट्रेलियाका स्टुअर्ट लले यसअघि श्रीलङ्का, बङ्गलादेश, वेष्ट इन्डिज, अफगानिस्तान र अमेरिकाको मुख्य प्रशिक्षक भएर काम गरिसक्नुभएको छ । ०००००


 

प्रतिकृया दिनुहोस