सरकार ढल्छ भन्नेहरू फत्रक्क गलेका छन् : प्रधानमन्त्री ओली

काठमाडौँ, १३ वैशाख ।
प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले काँग्रेस सभापति शेरबहादुर देउवा थाइल्याण्डबाट फर्किएपछि सरकार ढल्छ भनेर भ्रम फैलाउनेहरू अहिले फत्रक्क गलेको टिप्पणी गर्नु भएको छ ।
एमाले संसदीय दलको बैठकलाई आज सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले त्यस्ता भ्रमको पछाडि नलागेर आफ्नो काम र मिसनमा केन्द्रित हुन सांसदहरूलाई आग्रह गर्नुभयो ।
‘सरकार बाङ्गिसक्यो । शेरबहादुरजी थाइल्याण्डबाट नेपाल आइपुग्ने बित्तिकै ढल्छ भनेर भनेका थिए । मैले त भ्रम फिँजाउनेहरूका पछाडि नलाग्नुस् । आफ्नो मिसन र काममा लाग्नुस्, चुनावमा लाग्नुस् भनेकै थिएँ । शेरबहादुरजीले फर्केर आएर सरकार ढल्दैन भनेपछि भ्रम फैल्याउनेहरू फत्र्याक्क गलेका छन्, सरकार ढल्दैन भनेपछि सकियो । त्यसकारण एउटै कुराको जवाफ धेरै पटक खोज्नतिर हामी लाग्नु हुँदैन,’ उहाँले भन्नुभयो ।
प्रधानमन्त्री ओलीले मुलुकमा स्थिरता, स्थायित्व, विकास, सुशासन र समृद्धिका लागि दुई ठूला दलको सहकार्यमा सरकार बनेको दोहो¥याएर स्मरण गराउनुभयो । ‘यो सरकार मुलुकमा स्थिरता, स्थायित्व, विकास, सुशासन र समृद्धिका लागि दुई ठूला दलको सहकार्यमा सरकार बनेको हो । त्यसकारण हामी आफैँ हल्लाको पछाडि लाग्नुहुँदैन,’ उहाँले भन्नुभयो ।
संसद्को बजेट अधिवेशन प्रारम्भ भएको सन्दर्भमा भएको बैठकमा प्रधानमन्त्री ओलीले यस अधिवेशनका मुख्य कार्यभार, नीति तथा कार्यक्रम र बजेट प्रस्तुत र पारित गर्ने, विद्यमान परिस्थितिलाई बुझेर जनताका समस्याको उठान र समाधानका उपायका लागि खेल्नुपर्ने भूमिकाका सम्बन्धमा सम्बोधन गर्नुभयो ।
अमेरिकी सरकारसँग भएको सम्झौता र दुवै देशका संसद्बाट पारित भएको मिलेनियम च्यालेन्ज कर्पाेरेशन (एमसिसी) अमेरिकी पक्षबाट बन्द गरिएको सन्दर्भ उल्लेख गर्दै प्रधानमन्त्री ओलीले अब नेपालले आफ्नो विकास अरुको आशमा नभई आफैँले गर्नतिर लाग्नुपर्ने बताउनुभयो । ०००००
 

प्रतिकृया दिनुहोस