सामाजिक सञ्जालमा धेरै विकृति छ, व्यवस्थित गर्नुपर्छ: मेयर प्रसाईं

बिर्तामोड, २१ बैशाख ।
झापाको बिर्तामोडमा ‘सामाजिक सञ्जालको प्रयोग र चुनौती विषयक अन्तरक्रिया’ आज सम्पन्न भएको छ ।
प्राइम मिडिया प्रालिद्वारा सञ्चालित नयाँ पेपर डटकमको आयोजनामा अन्तरक्रिया भएको हो । सोही कार्यक्रमका बीच नयाँ पेपर डटकमले प्रकाशन गरेको २०८२ सालको टेबल क्यालेण्डर सार्वजनिक गरेको छ ।
कार्यक्रमका प्रमुख अतिथि बिर्तामोड नगरपालिकाका नगरप्रमुख पवित्रा महतारा प्रसाईं, प्रेस काउन्सिलका निवर्तमान सञ्चालक सदस्य गणेश पोखरेल, पत्रकार महासंघ झापाका पूर्वअध्यक्ष तारामणि सापकोटा, पत्रकार महासंघ झापाका उपाध्यक्ष सुब्रत न्यौपाने, बिर्तामोड साना सहरी खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाका अध्यक्ष मेघराज बाँस्तोला, प्राइम मिडिया प्रालिका अध्यक्ष निर्मल खत्री, नयाँ पेपरका प्रधान सम्पादक रमेश तिवारीले संयुक्त रुपमा टेबल क्यालेण्डर सार्वजनिक गर्नुभएको थियो ।
कार्यक्रममा प्रमुख अतिथि बिर्तामोड नगरपालिकाका नगरप्रमुख पवित्रा महतारा प्रसाईंले जे लेख्दा र बोल्दा हुन्छ भन्ने भावनाको विकास भएको बताउनुभयो । सामाजिक सञ्जालमा धेरै विकृति भएको बताउँहुँदै उहाँले त्यसलाई व्यवस्थित गर्नुपर्नेमा जोड दिनुभयो । कानून र विधि बनाएर सामाजिक सञ्जालको नियमन गर्नुपर्ने उहाँको भनाइ छ । गतल सूचना र अफवाह फैलिने भएकाले सामाजिक सञ्जालमाथि नियमन आवश्यक रहेको उहाँको भनाइ छ ।
कार्यक्रममा प्रेस काउन्सिलका निवर्तमान सदस्य गणेश पोखरेलले सामाजिक सञ्जाल साक्षरतामा जानुपर्नेमा जोड दिनुभयो । परम्परागत मिडियालाई अहिलेको प्रविधियुक्त मिडिया बाउनुपर्नेमा जोड दिँदै सामाजिक सञ्जालहरुलाई व्यवस्थित गर्नुपर्ने आवश्यकता औंल्याउनुभयो ।
अन्तरक्रियामा मन्तव्य राख्नुहुँदै पूर्वअध्यक्ष तारामणि सापकोटाले मूलधारको मिडियासँग प्रतिस्पर्धा गर्न सक्ने वैकल्पिक माध्यमका रुपमा सामाजिक सञ्जालको रुपमा देखिएको बताउनुभयो । उहाँले औपचारिक र अनौपचारिक मिडियामध्ये सामाजिक सञ्जाल अनौपचारिक मिडियाका रुपमा रहेको बताउनुभयो । सामाजिक सञ्जालको प्रयोगले सूचनामाथिको एकाधिकार अन्त्य भएको बताउनुभयो ।
त्यस्तै, पत्रकार महासंघ झापा शाखा उपाध्यक्ष न्यौपानले मोबाइल सामाजिक सञ्जालको प्रयोग कुलतको रुपमा विकास भएको बताउनुभयो । उहाँले सामाजिक सञ्जाललाई नागरिक पत्रकारिता भनिए पनि विश्वसनीयता र जवाफदेहिताका लागि मूल पत्रकारिता नै आवश्यक रहेको बताउनुभयो ।
कार्यक्रममा साझा मञ्च टडकमका सम्पादक गोपाल काफ्ले सामाजिक सञ्जालमा फेक न्यूज धेरै आउने गरेको बताउनुभयो । सामाजिक सञ्जाललाई अरुलाई खुइल्याउने काममा प्रयोग भएको चर्चा गर्नुहुँदै सामाजिक सञ्जालको सदुपयोग गर्नुपर्नेमा जोड दिनुभयो ।
कार्यक्रममा बिर्तामोड साना सहरी खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाका अध्यक्ष मेघराज बाँस्तोला सामाजिक सञ्जालको सदुपयोग गर्नुपर्नेमा जोड दिनुहुँदै कार्यक्रम सफलताको शुभकामना व्यक्त गर्नुभयो ।
कार्यक्रममा प्रेस चौतारी झापाका अध्यक्ष प्रदीप परियार, प्रेस सेन्टर झापा अध्यक्ष पुष्प खड्का, नारी सञ्चार गृहकी अध्यक्ष रेजिना गौतम, चलचित्र पत्रकार संघ झापा सचिव एकराज प्रधान, पत्रकार मनकुमार गदाल लगायतले मन्तव्य राख्नुभएको थियो ।
कार्यक्रमको औचित्यमाथि प्रकाश पार्नुहुँदै पत्रकार उमाकान्त खनालले सामाजिक सञ्जाल सम्वादको सस्तो र लोकप्रिय माध्यम भएको बताउनुभयो । सामाजिक सञ्जाल राम्रो कामका लागि बरदान सावित भएको बताउनुहुँदै उहाँले प्रमोशनल कामका लागि सामाजिक सञ्जालको प्रयोग गर्नुपर्ने उल्लेख गर्नुभयो ।
प्राइम मिडिया प्रालिका अध्यक्ष निर्मल खत्रीको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत मिडियाका सञ्चालक सदस्य पदम श्रेष्ठ गर्नुभएको थियो भने सञ्चालन प्रधान सम्पादक रमेश तिवारीले गर्नुभएको थियो । ०००००००
प्रतिकृया दिनुहोस