अमेरिकाबाट आप्रवासीलाई निस्कासन गर्ने ट्रम्पको कदममा सर्वोच्च अदालतको रोक

काठमाडौँ ३ जेठ ।
अमेरिकाको सर्वोच्च अदालतले युद्धकालमा प्रयोग भएको १८ औं शताब्दीको कानून ब्यूँताएर आप्रवासीहरूलाई निर्वासनमा पठाउने राष्ट्रपति डोनाल्ड ट्रम्पको योजनामा रोक लगाएको छ । युद्धकालमा प्रयोग हुने एलियन एनिमी एक्ट उपयोग गरेर आप्रवासीलाई निर्वासनमा पठाउने ट्रम्प प्रशासनको कदम विधिसंवत नरहेको भन्दै सर्वोच्च अदालतले रोक लगाएको रोयटर्सले जनाएको छ ।
अदालतको यो निर्णय ट्रम्पका लागि ठूलो झट्का रहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले उल्लेख गरेका छन् । ट्रम्प प्रशासनले सन् १७९८ को कानून ब्यूँताएर भेनेजुयली आप्रवासीहरूलाई एल साल्भाडोरको जेल पठाइरहेको छ । अदालतले आप्रवासीहरूबारे थप अनुसन्धान नै नगरी मापदण्डविपरीत जेल पठाउनु गलत हुने बताएको छ ।
सर्वोच्चले ट्रम्प प्रशासनको काममा रोक लगाउँदै मुद्दाको अन्तिम निर्णय गर्न न्यू अर्लिन्समा रहेको फिफ्थ सर्किट कोर्ट अफ अपिल्समा पठाएको छ । अब त्यो अदालतले ट्रम्पको कदम वैधानिक छ वा छैन भन्ने निर्धारण गर्नेछ ।
आदेशपछि राष्ट्रपति ट्रम्पले अदालतको आलोचना गर्नुभएको छ । उहाँले अपराधीहरूलाई देशनिकाला गर्न अदालतले नै अनुमति नदिएको बताउनुभएको छ । ट्रम्प प्रशासनले भेनेजुयलाको आपराधिक समूह ट्रेन दी अरागुआमा आबद्ध भएको भनेर अहिलेसम्म दुई सय ३८ जनालाई एल साल्भाडोरको जेलमा पठाइसकेको छ । ००००००
प्रतिकृया दिनुहोस