बङ्गलादेशमा आवामी लिगका ७ नेताविरुद्ध मृत्युदण्ड
विर्तामोड, ३१ भदौ ।
बङ्गलादेशको एक अदालतले पूर्वसत्ताधारी दल आवामी लिगका सात वरिष्ठ नेतालाई सन् २०२४ को जनविद्रोह दबाउने क्रममा भूमिका खेलेको अभियोगमा अनुपस्थितिमै मृत्युदण्डको फैसला सुनाएको छ । दोषी ठहर हुनेमा दुई पूर्वमन्त्रीसमेत रहेका छन् ।
न्यायाधीश नजरुल इस्लाम चौधरी नेतृत्वको तीन सदस्यीय न्यायाधिकरणले उनीहरूलाई हत्या, मानवताविरुद्धको अपराध र हत्याका लागि उक्साएको अभियोगमा दोषी ठहर गरेको हो । मृत्युदण्ड पाउनेमा आवामी लिगका पूर्वमहासचिव ओबैदुल कादेर र पूर्वमन्त्री मोहम्मद अली अराफातसहित एएफएम बहाउद्दिन नसिम, शेख फजले शम्स पराश, माइनुल हुसेन खान निखिल, सद्दाम हुसेन र शेख वली आसिफ इनान रहेका छन् ।
संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२४ को जुलाई र अगस्टमा विद्यार्थी नेतृत्वको आन्दोलन दबाउने क्रममा तत्कालीन प्रधानमन्त्री शेख हसिनाको सरकारको कारबाहीबाट करिब एक हजार चार सय जनाको मृत्यु भएको थियो । आन्दोलन चर्किएपछि हसिना हेलिकप्टरमार्फत भारत पुग्नुभएको थियो ।
राज्यद्वारा नियुक्त प्रतिरक्षा वकिल एम हसन इमामले दोषी ठहर गरिएकाहरू प्रत्यक्ष रूपमा हत्यामा संलग्न नभएको दाबी गर्दै मृत्युदण्डभन्दा कम सजाय दिन सकिने बताउनुभएको छ ।
अदालतले मृत्युदण्ड पाएका पाँच जनाको आधा सम्पत्ति आन्दोलनमा मारिएका वा घाइते भएका व्यक्तिका परिवारलाई क्षतिपूर्तिका रूपमा वितरण गर्नसमेत आदेश दिएको छ ।
मङ्गलबारको फैसलासँगै सन् २०२४ को आन्दोलनसम्बन्धी मुद्दामा दोषी ठहर हुनेको सङ्ख्या ६८ पुगेको छ । तीमध्ये २२ जनालाई मृत्युदण्ड सुनाइएको छ भने चार जना मात्रै हाल हिरासतमा छन् ।
यसअघि नोभेम्बर २०२५ मा पूर्वप्रधानमन्त्री शेख हसिनालाई पनि अनुपस्थितिमै मृत्युदण्ड सुनाइएको थियो । हसिनाले भने अदालतको अधिकार क्षेत्र स्वीकार गर्न अस्वीकार गर्दै आउनुभएको छ । उहाँलाई बङ्गलादेश फिर्ता पठाउन प्रधानमन्त्री तारिक रहमान नेतृत्वको सरकारले भारतसमक्ष अनुरोध गरेको छ । ००००





..jpeg)






प्रतिकृया दिनुहोस