के २०२० को दशक चीनको दशक बन्दैछ ?
अमेरिकी प्रभाव घट्दा विश्व शक्तिसन्तुलनमा चीनको प्रभाव बढ्दै
विर्तामोड, ३० घदौ ।
अमेरिकी प्रभाव क्रमशः कमजोर हुँदै गएको र चीनले आर्थिक, कूटनीतिक तथा सैन्य प्रभाव विस्तार गरिरहेको अवस्थामा सन् २०२० को दशक चीनको दशक बन्ने हो कि भन्ने बहस तीव्र बनेको छ ।
चिनियाँ राष्ट्रपति सी जिनपिङको नेतृत्वमा बेइजिङले आफ्नो प्राथमिकताअनुकूल अन्तर्राष्ट्रिय व्यवस्था निर्माणका लागि आधार तयार गरिरहेको विश्लेषकहरूको भनाइ छ । अमेरिकी विदेश नीति विश्लेषक रायन ह्यासका अनुसार चीनले तत्काल अमेरिकासँग प्रत्यक्ष शक्ति सङ्घर्षमा जानुभन्दा आफ्नो प्रभाव विस्तार गर्दै दीर्घकालीन प्रतिस्पर्धाका लागि तयारी गरिरहेको छ ।
अमेरिकाको परम्परागत नेतृत्व भूमिकामा आएको कमी, अन्तर्राष्ट्रिय सहयोग कार्यक्रमको कटौती र स्वार्थकेन्द्रित नीतिले अमेरिकी ‘सफ्ट पावर’ कमजोर हुँदा चीनले अवसर पाइरहेको विश्लेषण गरिएको छ । चीनले दुर्लभ–पृथ्वी तत्व, ऊर्जा र व्यापारमा आफ्नो रणनीतिक प्रभाव पनि बढाउँदै लगेको छ ।
दक्षिण चीन सागरमा चीनको गतिविधि र फिलिपिन्समाथिको दबाबलाई पनि उसको बढ्दो आत्मविश्वासका रूपमा हेरिएको छ । यद्यपि चीन तत्काल अमेरिकासँग द्वन्द्व चाहँदैन र सीमित सहयोगसँगै दीर्घकालीन प्रतिस्पर्धाको नीति अघि बढाइरहेको बताइएको छ ।
अस्ट्रेलियाका पूर्वप्रधानमन्त्री केभिन रुडले सन् २०२८ सम्म चीनले ताइवानमाथि आक्रमण गर्ने सम्भावना तीनमध्ये एक रहेको अनुमान गर्नुभएको छ । तर, सैन्य कारबाही चीनका लागि अझै अत्यन्त जोखिमपूर्ण रहेको उहाँको भनाइ छ ।
विश्लेषकहरूका अनुसार बदलिँदो शक्ति सन्तुलनले द्वन्द्वको जोखिम बढाए पनि चीनलाई विश्वव्यापी नेतृत्व स्थापित गर्न पर्याप्त स्रोत, अन्तर्राष्ट्रिय साझेदारी र विश्वसनीयता आवश्यक पर्नेछ । त्यसैले २०२० को दशक चीनका लागि अवसरको दशक बने पनि यो पूर्ण रूपमा चीनको दशक बन्छ कि बन्दैन भन्ने अझै निश्चित छैन । ०००००








.jpeg)



प्रतिकृया दिनुहोस