Close This

क्षयरोगविरूद्धका नयाँ खोपले ७३ लाखभन्दा बढी जीवन बचाउन सक्ने गाभीको दाबी

बिर्तामोड, ३० भदौ । 
क्षयरोग अर्थात् टीबीविरुद्ध विकास भइरहेका नयाँ खोपले आगामी दुई दशकमा ७३ लाखभन्दा बढी मानिसको ज्यान बचाउन सक्ने विश्वव्यापी खोप गठबन्धन गाभीले जनाएको छ ।
परीक्षणको अन्तिम चरणमा रहेका नयाँ खोपले टीबी नियन्त्रणका लागि महत्वपूर्ण उपलब्धि हासिल गर्न सक्ने गाभीकी प्रमुख सानिया निश्तारले बताउनुभएको छ । गाभीका अनुसार नयाँ खोप सन् २०२९ देखि उपलब्ध हुन सक्ने अपेक्षा गरिएको छ ।
नयाँ विश्लेषणअनुसार खोपको प्रभावकारी प्रयोग हुन सके सन् २०३० देखि २०५० सम्म ७३ लाखभन्दा बढी मानिसको ज्यान जोगाउन सकिनेछ । साथै, न्यून तथा मध्यम आय भएका देशमा शताब्दीको मध्यसम्म १३५ अर्ब अमेरिकी डलरसम्म आर्थिक लाभ पुग्न सक्ने अनुमान गरिएको छ ।
सबैभन्दा बढी आवश्यकता भएका देशमा पर्याप्त खोप उपलब्ध गराउन अहिलेबाटै तयारी गर्नुपर्ने गाभीले जनाएको छ । तर खोपले नियामक स्वीकृति पाएपछि पनि बजारमा ल्याउन समय लाग्न सक्ने र पर्याप्त विश्वव्यापी तथा राष्ट्रिय वित्तीय स्रोतको अभावले यसको प्रयोग सीमित हुन सक्ने जोखिम औँल्याइएको छ ।
हाल टीबीबाट जोगाउन प्रयोग हुँदै आएको बीसीजी खोप नै एकमात्र उपलब्ध खोप हो, जुन मुख्यतः बालबालिकालाई दिइन्छ । गाभीले विकासशील देशमा किफायती मूल्यमा खोप उपलब्ध गराउन सरकार तथा निजी दाताबीच सहकार्य आवश्यक रहेको जनाएको छ ।
गाभीले नयाँ टीबी खोपका अन्तिम चरणका परीक्षणलाई प्रतिस्पर्धात्मक र विभिन्न भौगोलिक क्षेत्रमा विस्तार गर्न तथा सफल खोपलाई नियमित खोप कार्यक्रममा समावेश गरी व्यापक प्रयोगमा ल्याउन जोड दिएको छ । 


 

प्रतिकृया दिनुहोस