Close This

कृष्णभिरमा भोलि बिहानदेखि दुईतर्फी सडक सञ्चालन हुने 

सडक खुल्ने पर्खाइमा सवारीसाधन नारायणगढ–मुग्लिन सडकखण्डअन्तर्गत तुइनखोलाको पहिरो व्यवस्थापनका लागि आवागमन रोकेपछि सडकमा रोकिएका सवारीसाधन । उक्त खण्डमा बिहान ८ः३० बजेदेखि बेलुकी ६ बजेसम्म दुवैतर्फबाट प्रत्येक दुई घण्टामा आधा घण्टाका लागि मात्र सवारी आवागमन

चितवन, ३१ भदौ ।
कृष्णभिरमा नयाँ ‘ट्र्याक’ खोलेर भोलि बिहानदेखि दुईतर्फी  यातायात सेवा सञ्चालन गरिने भएको छ । 
त्रिशूली बाढीबाट सडकको तल्लो भाग बगाएपछि त्यस ठाउँमा उक्त राजमार्ग यही भदौ १४ गते  यातायात सेवा सञ्चालन गर्न नमिल्ने गरी भासिएको थियो । सडक भासिएपछि पूर्णरुपमा अवरुद्ध बनेको सो राजमार्ग यही भदौ १८ गतेदेखि नजिकै रहेको ढिस्कोलाई काटेर नयाँ ट्र्याक खोलिएको हो । 
नागढुङ्गा–मुग्लिन सडक योजना (पश्चिम खण्ड)का इन्जिनियर धीरज ढकालका अनुसार आज साँझसम्ममा सबै काम सकिने छ । आज नै ग्राबेल र नालीको काम भइरहेको छ । उहाँले भन्नुभयो, “साँझसम्ममा हामी सबै काम सक्छौँ”, “स्थानीय बेनिघाट रोराङ गाउँपालिकाले सडकमा ‘फ्लडलाइट’ जडान गर्दैछ । यससँगै रातिमा सवारी सञ्चालन गर्न सहज हुनेछ ।”
पूर्वाधार विकास मन्त्रालयले जारी गरेको सूचनामा भोलि बिहीबार बिहान ६ः०० बजेदेखि पूर्णरुपमा यातायात सञ्चालन गरिने जनाइएको छ । नदी कटानबाट करिब १०० मिटर सडक क्षतिग्रस्त भई यातायात अवरुद्ध भएकोमा मन्त्रालयले आवश्यक जनशक्ति, उपकरण तथा स्रोतसाधनको अधिकतम परिचालन गरी नयाँ ट्र्याक निर्माण तथा सडक पुनःस्थापनाको कामलाई अन्तिम चरणमा पु¥याएको सूचनामा जनाइएको छ । 
धादिङ जिल्लाका प्रमुख जिल्ला अधिकारी लक्ष्मी पाण्डेयले साँझसम्ममा काम सम्पन्न भएमा रोकिएका गाडी आजै पार गराउने बताउनुभयो । उहाँले भन्नुभयो, “साँझसम्मको प्रगतिको समीक्षा गरी रोकिएका सवारी पार गराउँछाँै ।” भोलि बिहीबार बिहानदेखि दुईतर्फीनै सवारी सञ्चालन हुने उहाँले बताउनुभयो ।
कृष्णभिरमा सवारी सञ्चालन भएसँगै नारायणगढ–मुग्लिन सडकखण्डको तुइन खोलामा आंशिक रोकिएका सवारीसाधन पनि गन्तव्यतर्फ छुट्ने छन् । चितवनका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले कृष्णभिरमा सवारी सञ्चालन हुने भएमा तत्कालका लागि तुइन खोलामा भइरहेको पहिरो रोकथामको काम रोकिने बताउनुभयो । लामो समयदेखि कृष्णभिरको सडक अवरुद्ध हुँदा ठूला सवारीसाधन राजधानी जान आउन पाएका छैनन् । ०००००
 

प्रतिकृया दिनुहोस