विकासोन्मुख मुलुकमा विश्व बैंकले परिचालन गर्यो ११२ अर्ब डलर निजी पुँजी
बिर्तामोड, २ असोज ।
विश्व बैंक समूहले आर्थिक वर्ष २०२६ मा विकासोन्मुख मुलुकका लागि एक खर्ब १२ अर्ब अमेरिकी डलर निजी पुँजी परिचालन गरेको छ । यो विश्व बैंक समूहको इतिहासमै एक आर्थिक वर्षमा परिचालन गरिएको सबैभन्दा ठूलो निजी पुँजी हो ।
विश्व बैंकका अनुसार चार वर्षअघि आर्थिक वर्ष २०२२ मा ३५ अर्ब डलर रहेको निजी पुँजी परिचालन २०२६ मा बढेर ११२ अर्ब डलर पुगेको हो । समूहको आफ्नै वित्तीय सहयोगसमेत जोड्दा विकासोन्मुख मुलुकमा परिचालन तथा वित्तीय सहयोगको कुल रकम दुई खर्ब डलरभन्दा बढी पुगेको छ ।
निम्न–मध्यम आय भएका मुलुकमा निजी पुँजी परिचालन १४ अर्बबाट बढेर ३७ अर्ब तथा उच्च–मध्यम आय भएका मुलुकमा १२ अर्बबाट बढेर ५० अर्ब डलर पुगेको छ । अफ्रिकी मुलुकमा यस्तो रकम नौ अर्बबाट बढेर २२ अर्ब डलर पुगेको विश्व बैंकले जनाएको छ । निम्न आय भएका मुलुकमा भने परिचालन करिब तीन अर्ब डलरको हाराहारीमा रहेको छ ।
विश्व बैंक समूहले पछिल्ला तीन वर्षमा निजी क्षेत्रसँग सहकार्य गर्ने प्रणालीमा सुधार, वित्तीय उपकरण विस्तार, ग्यारेन्टी वृद्धि र लगानीको जोखिम न्यूनीकरणका उपाय अघि बढाएपछि निजी पुँजी परिचालन बढेको जनाएको छ । यस अवधिमा २५ अर्ब डलरभन्दा बढीको ग्यारेन्टी जारी गरिएको छ ।
विश्व बैंक समूहका अध्यक्ष अजय बांगाका अनुसार निजी पुँजी बढाउनु मात्र पर्याप्त नभई रोजगारी र आर्थिक अवसर सिर्जना हुने क्षेत्रमा लगानी पुग्नु आवश्यक छ । विश्व बैंकका अनुसार आगामी १० देखि १५ वर्षमा विकासोन्मुख मुलुकमा एक अर्ब २० करोड युवा काम गर्ने उमेरमा प्रवेश गर्नेछन्, तर सो अवधिमा करिब ४२ करोड रोजगारी मात्र सिर्जना हुने अनुमान छ । रोजगारी सिर्जनाका लागि विश्व बैंकले पूर्वाधार तथा ऊर्जा, कृषि व्यवसाय, स्वास्थ्य, पर्यटन र उत्पादनमूलक उद्योगलाई प्राथमिकतामा राखेको छ । आर्थिक वर्ष २०२६ मा समूहको आफ्नै स्रोत र परिचालित पुँजीको ५५ प्रतिशत यी पाँच क्षेत्रमा गएको जनाइएको छ ।






.jpeg)




प्रतिकृया दिनुहोस