बीसौँ एसियाली खेलकुद आजदेखि, नेपालका १३५ खेलाडी सहभागी, २१ खेलमा प्रतिस्पर्धा गर्दै
काठमाडौँ, ३ असोज ।
जापानको आइची–नागोया क्षेत्रमा आयोजना भइरहेको बीसौँ एसियाली खेलकुदको औपचारिक उद्घाटन आज हुँदैछ । नागोया सिटीस्थित मिजुहो पार्क एथलेटिक्स स्टेडियममा स्थानीय समयअनुसार साँझ ६ बजे उद्घाटन समारोह आयोजना हुनेछ । केही खेल भने उद्घाटनअघि नै सुरु भइसकेका छन् ।
अक्टोबर ४ अर्थात् असोज १८ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा नेपालबाट २१ खेलका १३५ खेलाडी सहभागी छन् । नेपाली टोलीमा ५७ महिला र ७८ पुरुष खेलाडी छन् । नेपालले कबड्डी, क्रिकेट, भलिबल, उसु, कराते, बक्सिङ, एथलेटिक्स, जुडो, टेबलटेनिस, कुस्तीलगायत खेलमा प्रतिस्पर्धा गर्नेछ । कबड्डीमा सबैभन्दा धेरै २४, क्रिकेटमा १५ र भलिबलमा १२ खेलाडी सहभागी छन् ।
नेपालका तर्फबाट उद्घाटन समारोहमा बक्सिङका चन्द्रबहादुर थापा र महिला कबड्डीकी मानमती विष्टले राष्ट्रिय झण्डा बोक्नेछन् । थापाले गत वर्ष दुबईमा भएको विश्व बक्सिङ च्याम्पियनसिपमा कांस्य पदक जित्नुभएको थियो भने विष्टको कप्तानीमा नेपाली महिला कबड्डी टोलीले सन् २०२३ को हाङ्झाउ एसियाली खेलकुदमा कांस्य पदक जितेको थियो ।
नेपालले यसपटक स्वर्णसहित दोहोरो अङ्कमा पदक जित्ने लक्ष्य राखेको छ । प्रतियोगितामा ४३ खेल समावेश छन् भने ४५ देश तथा क्षेत्र र एसियाली ओलम्पिक परिषद्को शरणार्थी टोली सहभागी छन् । करिब १७ हजार खेलाडी तथा पदाधिकारी सहभागी हुने प्रतियोगितामा ४६९ पदकका लागि प्रतिस्पर्धा हुँदैछ । ०००००




.jpeg)






प्रतिकृया दिनुहोस