प्रधानमन्त्रीले जेनजी सांसदहरूलाई भन्नुभयो : नवीन सोचका साथ आफ्नै पुस्ताका लागि काम गर्नुहोस्
काठमाडौं, २ असोज ।
प्रधानमन्त्री वालेन्द्र शाहले जेनजी उमेर समूहका सांसदहरूलाई नवीन सोचका साथ आफैँ उदाहरण बनेर आफ्नै पुस्ताका लागि काम गर्न आग्रह गर्नुभएको छ ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज आयोजित अन्तरक्रियामा उहाँले जनजीविकाका आधारभूत समस्या समाधानसँगै जेनजी पुस्तालाई आत्मनिर्भर बनाउन स्वदेशमै रोजगारी र अवसर सिर्जना गर्नुपर्ने बताउनुभयो ।
प्रधानमन्त्री शाहले यसका लागि स्थलगत अध्ययन र अनुसन्धान गर्ने, सूचना प्रविधिको उच्चतम प्रयोग गर्ने, समस्या समाधानमुखी व्यवहार अपनाउने तथा पुराना र अव्यावहारिक सोच त्याग्न सुझाव दिनुभयो ।
उहाँले राजनीतिलाई कमाउने माध्यम बनाउन नहुने भन्दै सांसदहरूले राजनीतिबाहेक आम्दानीको छुट्टै व्यावसायिक आधार बनाउनुपर्ने बताउनुभयो। सांसदको जिम्मेवारी सकिएपछि आम्दानीको बाटोको चिन्ता गर्न नपर्ने गरी अहिलेबाटै व्यवसाय सुरु गर्न उहाँले सुझाव दिनुभयो ।
अन्तरक्रियामा सहभागी जेनजी सांसदहरूले प्रधानमन्त्रीको सुझावलाई अभिभावकीय मार्गदर्शनका रूपमा लिँदै आफ्नै पुस्तालाई आत्मनिर्भर बनाउन र स्वदेशमै अवसर सिर्जना गर्ने प्रतिबद्धता जनाउनुभयो ।
उहाँहरूले जेनजी आन्दोलनका सहिद र घाइते, आन्दोलनका क्रममा पक्राउ परेका व्यक्तिको विषयसँगै कानुन निर्माण, शिक्षा, स्वास्थ्य, पूर्वाधार, सूचना प्रविधि र निर्वाचन क्षेत्रका समस्याबारे प्रधानमन्त्रीको ध्यानाकर्षण गराउनुभएको थियो । ०००००

.jpeg)









प्रतिकृया दिनुहोस