कोशी प्रदेशका २३२ अधुरा योजना यसै वर्ष सम्पन्न गर्ने प्रतिबद्धता
विराटनगर, २ असोज ।
कोशी प्रदेशमा स्रोत अभावका कारण वर्षौंदेखि अधुरा रहेका दुई सय ३२ वटा योजना चालु आर्थिक वर्षभित्रै सम्पन्न गर्ने प्रतिबद्धता निर्माण व्यवसायीहरूले जनाएका छन् ।
प्रदेश भौतिक पूर्वाधार विकासमन्त्री जीवन आचार्य र निर्माण व्यवसायी महासङ्घ कोशी प्रदेशका प्रतिनिधिबीच मन्त्रालयमा भएको छलफलपछि अधुरा योजना यथाशीघ्र अघि बढाउने सहमति भएको हो ।
मन्त्री आचार्यले म्याद सकिएका र बजेट अभावका कारण काम अघि बढ्न नसकेका सडक, पुल तथा भवन आयोजनाको म्याद थप र आवश्यक बजेट व्यवस्थापनमा सरकारले सहजीकरण गर्ने बताउनुभयो । तर, चालु आर्थिक वर्षका केही महिनाभित्रै काम सम्पन्न गर्ने सर्तमा मात्रै अन्तिम पटक म्याद थप गरिने उहाँले स्पष्ट पार्नुभयो ।
मन्त्री आचार्यले सरकार र निर्माण व्यवसायी एकअर्काका साझेदार भएकाले इमानदारीपूर्वक तोकिएको समयभित्र काम सम्पन्न गर्न आग्रह गर्नुभयो । काममा कुनै पनि बहानामा ढिलासुस्ती सह्य नहुने उहाँले बताउनुभयो ।
निर्माण व्यवसायीहरूले पनि अब ढिलाइ नगरी निर्धारित समयभित्र गुणस्तरीय काम सम्पन्न गर्ने सामूहिक प्रतिबद्धता जनाएका छन् ।
प्रदेश मन्त्रालयको तथ्याङ्कअनुसार आर्थिक वर्ष २०८२÷८३ सम्ममा कालोपत्रे गर्नुपर्ने एक सय २१ वटा सडक योजना अधुरा छन् । त्यस्तै पुल र भवनलगायत थप एक सय ११ वटा योजना पनि स्रोत अभावका कारण अलपत्र छन् ।
गत आर्थिक वर्षमा मोरङका ४५, झापाका ४२, सुनसरीका १९, इलामका नौ, खोटाङका तीन, उदयपुरका दुई र धनकुटाको एक सडक योजना अघि बढ्न सकेका थिएनन् । सडक योजना सम्पन्न गर्न मात्रै करिब ३२ करोड रुपैयाँ र अन्य एक सय ११ योजनाका लागि ६० करोड रुपैयाँभन्दा बढी बजेट आवश्यक पर्ने अनुमान गरिएको छ ।
निर्माण व्यवसायी महासङ्घ कोशी प्रदेशका वरिष्ठ उपाध्यक्ष केशरबहादुर बुढाथोकीले प्रदेश सरकारको पहलले अलपत्र योजना सम्पन्न हुने विश्वास बढेको बताउनुभयो । उहाँले यसै आर्थिक वर्षभित्र काम सक्न व्यवसायीहरू दृढ रहेको बताउनुभयो । ००००

.jpeg)









प्रतिकृया दिनुहोस