लेतेदेखि कोरलासम्म पाँच सयभन्दा बढी कन्टेनर रोकिए 

मुस्ताङ, २१ असोज । 
मुस्ताङको लेतेदेखि कोरला नाकासम्म पाँच सयभन्दा बढी कन्टेनर सडकमा लामबद्ध भएर रोकिएका छन् । असोज ८ देखि ११ गतेसम्म परेको भारी वर्षापछि आएको बाढी, पहिरो र हिमपातका कारण सडक अवरुद्ध भएपछि ती कन्टेनर विभिन्न स्थानमा रोकिएका हुन् ।
म्याग्दीको पोखरेबगर, कुनौटे र बैसरीलगायतका स्थानमा सडक मर्मतको काम भइरहेको छ । सडक पूर्ण रूपमा सञ्चालनमा आउन अझै करिब एक साता लाग्ने आयोजनाका प्राविधिकहरूले बताएका छन् ।
बेनी–जोमसोम सडक अवरुद्ध हुँदा ७० भन्दा बढी कन्टेनर र एक सयभन्दा बढी विद्युतीय सवारीसाधन जोमसोम बसपार्कमा रोकिएका छन् । यता, जोमसोम–कोरला सडकखण्ड मर्मतपछि कोरला नाकामा रोकिएका केही मालवाहक कन्टेनर भने जोमसोम ल्याउन थालिएको छ ।
बाढीपहिरोका कारण विद्युत् र इन्टरनेट सेवा अवरुद्ध हुँदा कोरला नाकाबाट आएका सामानको भन्सार जाँचपाससमेत प्रभावित भएको थियो । कन्टेनर चालक गोविन्द गुरुङका अनुसार कोरला नाकामै करिब तीन सय कन्टेनर र दुई सयभन्दा बढी विद्युतीय सवारीसाधन अझै रोकिएका छन् । 
दसैँतिहारका लागि चीनबाट ल्याइएका सामान समयमै बजारमा पुग्न नसक्दा व्यापारीसँगै उपभोक्ता पनि प्रभावित भएका छन् भने नेपाली बजारको आर्थिक गतिविधिसमेत प्रभावित भएको छ । ०००००
 

प्रतिकृया दिनुहोस