विराटनगरमा आजदेखि अन्तरप्रदेश मुख्यमन्त्री सम्मेलन
बिर्तामोड, २७ असोज ।
संघीयता कार्यान्वयनमा देखिएका संवैधानिक तथा प्रशासनिक जटिलता समाधान गर्दै प्रदेशको अधिकार सुनिश्चित गर्न साझा धारणा बनाउने उद्देश्यले आजदेखि कोशी प्रदेशको राजधानी विराटनगरमा मुख्यमन्त्री सम्मेलन सुरु हुँदैछ ।
कोशी प्रदेश सरकारले आयोजना गरेको दुईदिने सम्मेलनमा सहभागी हुन छ प्रदेशका मुख्यमन्त्री विराटनगर पुग्नुभएको छ । मधेशका मुख्यमन्त्री कृष्णप्रसाद यादव, बागमतीका किरण थापामगर, गण्डकीका सुरेन्द्रराज पाण्डे, लुम्बिनीका चेतनारायण आचार्य र कर्णालीका मङ्गलबहादुर शाही सोमबार विराटनगर आइपुग्नुभएको हो ।
सुदूरपश्चिमका मुख्यमन्त्री खगराज भट्ट भने बजेटसम्बन्धी विवादका कारण सम्मेलनमा सहभागी हुन विराटनगर पुग्नुभएको छैन । विवाद समाधान भए उहाँ मंगलबार बेलुकासम्म आइपुग्ने कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीको सचिवालयले जनाएको छ । सुदूरपश्चिमबाट भने प्रमुख सचिव सम्मेलनमा सहभागी हुन आउनुभएको छ ।
सम्मेलनमा मुख्यमन्त्री, प्रमुख सचिव, प्रदेश योजना आयोगका उपाध्यक्ष र मुख्यन्यायाधिवक्तासहितको टोली सहभागी हुनेछ ।
सम्मेलनमा प्रदेशको अधिकार तथा वित्तीय स्रोतको बाँडफाँट, कानुन निर्माणमा एकरूपता र प्रदेशहरूबीच असल अभ्यासको आदानप्रदानलगायत विषयमा छलफल हुनेछ । साथै, प्रदेशका साझा माग र एजेन्डा तय गरी संघीय सरकारसमक्ष सामूहिक रूपमा आवाज उठाउने रणनीति बनाइनेछ ।
कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीका प्रेस सल्लाहकार विक्रम लुइँटेलका अनुसार सम्मेलनको अन्त्यमा प्रदेशहरूको साझा माग, प्रतिबद्धता र संघीयतालाई थप सुदृढ बनाउने विषय समेटिएको ‘विराटनगर घोषणापत्र’ जारी गरिनेछ ।


.jpeg)




-1758972041.jpeg)



प्रतिकृया दिनुहोस