व्यवसायी नवीनराज बस्नेत रक्तचन्दन तस्करीको पुरानो मुद्दामा पक्राउ
बिर्तामोड, २४ असोज ।
प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले व्यवसायी नवीनराज बस्नेतलाई १३ वर्षअघिको रक्तचन्दन तस्करीसम्बन्धी मुद्दामा पक्राउ गरेको छ । ब्युरोको टोलीले उहाँलाई हिजो साँझ भक्तपुरस्थित निवासबाट पक्राउ गरेको हो ।
केन्द्रीय अनुसन्धान ब्युरोका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक उमा चतुर्वेदीले बस्नेत पक्राउ परेको पुष्टि गर्नुभएको छ । उहाँका अनुसार प्रतिवादीको ठेगाना नखुलेको भन्दै लामो समयदेखि रोकिएको मुद्दामा पछिल्लो समय ठेगाना खुलेपछि अदालतबाट पक्राउ पुर्जी जारी भएको थियो । चतुर्वेदीका अनुसार अदालत खुलेको दिन बस्नेतलाई उपस्थित गराइनेछ । यसअघि सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले पनि बस्नेतको घरमा छापा मारेको थियो। पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराका भाइ प्रभुशमशेर जबरासहित निकटस्थहरूको घरमा छापा मार्ने क्रममा विभागको टोली बस्नेतको निवासमा पुगेको थियो । त्यसपछि प्रहरीले उहाँको खोजी थालेको थियो ।
अनुसन्धानका क्रममा विभिन्न मुद्दामा जेलमा रहेका उच्चपदस्थ व्यक्तिहरूसँग सम्पर्क गराउने व्यक्ति भनिएका ईनम सापकोटासँग पनि बस्नेतको कुराकानी हुने गरेको विवरण फेला परेको थियो । सापकोटाको मोबाइल विवरण जाँच गर्दा पूर्वन्यायाधीश नवराज थपलिया, अदालतका बिचौलिया भनिने दीपक तिमिल्सिना र प्रभुशमशेर जबरासँग पनि सम्पर्क भएको विवरण भेटिएको समाचारमा उल्लेख छ । अनुसन्धान अधिकृतहरूले न्यायालयमा हुने भनिएको सेटिङसम्बन्धी विषयमा समेत छानबिन गरिरहेको बताएका छन् । पुरानो रक्तचन्दन तस्करी मुद्दासँगै बस्नेतमाथि सम्पत्ति शुद्धीकरणको कसुरमा पनि अनुसन्धान अघि बढाइने प्रहरीले जनाएको छ ।






-1758972041.jpeg)


प्रतिकृया दिनुहोस