खोटाङ प्रशासनका चार सेवा अब अनलाइनबाट नै लिन सकिने
खोटाङ, २८ असोज ।
जिल्ला प्रशासन कार्यालय खोटाङले सेवाग्राहीको भौतिक उपस्थिति बिना नै चार प्रकारका सेवा उपलब्ध गराउन थालेको छ ।
प्रशासनले सेवा प्रवाहलाई छिटो, छरितो र प्रविधिमैत्री बनाउने उद्देश्यले सेवाग्राहीले आफैँ वा नजिकको वडा कार्यालयको सहयोगमा आवश्यक कागजात इमेल वा ह्वाट्सएपमार्फत पठाएर सेवा लिन सक्ने व्यवस्था मिलाएको हो ।
प्रमुख जिल्ला अधिकारी महेशकुमार गुरुङका अनुसार पहिलो चरणमा दलित, जनजाति तथा खसआर्य प्रमाणित, थर प्रमाणित र धार्मिक तथा सांस्कृतिक पर्व, जात्रा, उत्सव एवं मेला सञ्चालनको अनुमति लिन भौतिक रूपमा उपस्थित हुन नपर्ने व्यवस्था गरिएको छ ।
दलित, जनजाति तथा खसआर्य र थर प्रमाणितका लागि वडा कार्यालयको सिफारिससहित जन्मदर्ता वा नागरिकता प्रमाणपत्रको प्रतिलिपि पठाउनुपर्नेछ । यस्तै, धार्मिक तथा सांस्कृतिक कार्यक्रम सञ्चालनको अनुमति लिन सम्बन्धित वडा वा स्थानीय तहको सिफारिससहित निवेदन पेस गर्नुपर्ने प्रशासनले जनाएको छ ।
प्रमुख जिल्ला अधिकारी गुरुङले सेवाग्राहीको समय र खर्च बचाउन यस्तो व्यवस्था गरिएको बताउनुभयो। उहाँले आगामी दिनमा प्रविधिमैत्री सेवा थप विस्तार गर्ने योजना रहेको पनि जानकारी दिनुभयो ।
गत भदौ २५ गते खोटाङ आउनुभएका गुरुङले ‘नागरिक संवादका लागि प्रमुख जिल्ला अधिकारी’ अभियानसमेत सञ्चालन गर्नुभएको छ । नागरिकका समस्या, गुनासा र सुझाव प्रत्यक्ष सुन्दै सम्बन्धित निकायमार्फत समाधानको पहल गर्ने उद्देश्यले अभियान अघि बढाइएको उहाँले बताउनुभयो ।
यसैगरी, जिल्ला प्रशासन कार्यालय र जिल्ला प्रहरी कार्यालयले लागुऔषध नियन्त्रण, जनचेतना अभिवृद्धि तथा समुदाय–प्रहरी साझेदारीलाई प्राथमिकता दिँदै संयुक्त अभियान सञ्चालन गरिरहेका छन् । ०००००







-1758972041.jpeg)



प्रतिकृया दिनुहोस