भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउने कार्यक्रमको मिति परिवर्तन
काठमाडौँ, १ कात्तिक ।
दसैँको सार्वजनिक बिदाका कारण यस वर्ष बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउने कार्यक्रमको मिति परिवर्तन गरिएको छ ।
स्वास्थ्य सेवा विभागका अनुसार पहिलो चरणको राष्ट्रिय भिटामिन ‘ए’ तथा जुकाको औषधि वितरण कार्यक्रम आगामी कात्तिक १७ र १८ गते सञ्चालन हुने भएको छ ।
सरकारले हरेक वर्ष पहिलो चरणमा कात्तिक २ र ३ गते तथा दोस्रो चरणमा वैशाख ६ र ७ गते बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउँदै आएको छ । तर, यस वर्ष कात्तिक २ र ३ गते दसैँको सार्वजनिक बिदा परेकाले कार्यक्रम पछि सारिएको विभागले जनाएको छ ।
कार्यक्रमअन्तर्गत ६ महिनादेखि ५९ महिनासम्मका बालबालिकालाई भिटामिन ‘ए’ क्याप्सुल र १२ महिनादेखि ५९ महिनासम्मका बालबालिकालाई जुकाको औषधि खुवाइनेछ ।
विभागले तोकिएको मितिमा आफ्ना बालबालिकालाई नजिकैको भिटामिन ‘ए’ तथा जुकाको औषधि वितरण केन्द्रमा लगेर औषधि खुवाउन अभिभावकलाई आग्रह गरेको छ ।
बालबालिकामा भिटामिन ‘ए’ को कमी हुन नदिन र जुकाको सङ्क्रमणबाट हुन सक्ने स्वास्थ्य समस्या न्यूनीकरण गर्न सरकारले यो कार्यक्रम नियमित रूपमा सञ्चालन गर्दै आएको छ । ०००००











प्रतिकृया दिनुहोस