महँगीले दसैँ मनाउनै मुस्किल 

काठमाडौं, २८ असोज । 
दसैँ नजिकिँदै गर्दा बजारमा किनमेल गर्नेको चहलपहल बढेको छ । तर, खाद्यान्न, लत्ताकपडा, फलफूल, तरकारी र मासुजन्य वस्तुको मूल्य बढेपछि सर्वसाधारणलाई चाडपर्व मनाउन कठिन हुन थालेको छ ।
काठमाडौँ उपत्यकाका असन, इन्द्रचोक, भोटाहिटी, नयाँसडक, बानेश्वरलगायत मुख्य बजारमा किनमेल गर्नेको भीड छ । तर, अघिल्लो वर्षको तुलनामा यस वर्ष लत्ताकपडासहित दैनिक उपभोग्य वस्तुको मूल्य बढेको उपभोक्ताको गुनासो छ ।
काठमाडौँ महानगरपालिका–३२ का शालिकचन्द्र शर्माका अनुसार जिरा मसिनो चामलको एक बोरामा तीन सय रुपैयाँ र खसीको मासुमा प्रतिकिलो तीनदेखि चार सय रुपैयाँसम्म मूल्य बढेको छ । सीमित आम्दानी हुने परिवारलाई दसैँ मनाउनसमेत मुस्किल भएको उहाँको भनाइ छ ।
तिनकुनेकी स्मिता खत्रीले पनि मूल्यवृद्धिका बीच आफ्ना तीन सन्तानका लागि नयाँ लुगा किनेको बताउनुभयो। चाडपर्वमा खर्च कटौती गर्न कठिन हुने उहाँको अनुभव छ।
उपभोक्ता अधिकार अनुसन्धान मञ्चका अध्यक्ष माधव तिमल्सिनाले खाद्यान्नदेखि तरकारी, फलफूल र मासुसम्मको मूल्य बढेको बताउँदै नियमित बजार अनुगमन र प्रभावकारी मूल्य नियन्त्रणमा जोड दिनुभएको छ ।
नेपाल हिमालयन सीमापार वाणिज्य सङ्घका महासचिव रामचन्द्र पराजुलीका अनुसार चीनसँग जोडिएका रसुवा र तातोपानी नाका अवरुद्ध हुँदा दसैँलक्षित करिब पाँच अर्ब रुपैयाँ बराबरका सामान रोकिएका छन्। यसले बजारमा आपूर्ति प्रभावित पारेको उहाँको भनाइ छ ।
यता, वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले चाडपर्वलक्षित अनुगमन तीव्र पारेको जनाएको छ । विभागका महानिर्देशक रितेशकुमार शाक्यका अनुसार दैनिक २५ देखि ५० वटा फर्म तथा कम्पनीको अनुगमन भइरहेको छ । तोकिएको अधिकतम खुद्रा मूल्यभन्दा बढीमा सामान बिक्री गर्ने व्यवसायीलाई कानुनी दायरामा ल्याइने उहाँले बताउनुभएको छ । ०००००
 

प्रतिकृया दिनुहोस