झापामा १३४ व्यवसायको अनुगमन, ५ फर्मलाई पाँच लाख १५ हजार रुपैयाँ जरिवाना
बिर्तामोड, २८ असोज ।
झापामा बजार अनुगमनका क्रममा उपभोक्ताको हितविपरीत काम गर्ने पाँच व्यवसायलाई पाँच लाख १५ हजार रुपैयाँ जरिवाना गरिएको छ।
जिल्ला प्रशासन कार्यालय झापाले भदौ २० देखि असोज २८ गतेसम्म गरेको आकस्मिक निरीक्षण तथा अनुगमनका क्रममा १३४ वटा फर्म तथा व्यवसायको अनुगमन गरेको हो । यस क्रममा एक व्यवसायलाई सचेतसमेत गराइएको छ ।
म्याद गुज्रिएको गाईको दाना बिक्री गर्ने दास किराना पसल र अस्वाभाविक मूल्यमा फेन्सिङ तार बिक्री गर्ने शिवम् ट्रेड एन्ड सप्लायर्सलाई दुई–दुई लाख रुपैयाँ जरिवाना गरिएको छ ।
त्यस्तै, अखाद्य अमिलो पदार्थ बिक्री गर्ने श्रीराम अमिलो भण्डार र अनुमति नलिई विदेशी प्याकेजिङ प्रयोग गरेर आइसक्रिम बिक्री गर्ने कमल आइस उद्योगलाई ५०– हजार रुपैयाँ जरिवाना गरिएको छ । ओमशान्ति मिष्ठान्न भण्डारलाई १५ हजार रुपैयाँ जरिवाना गरिएको छ भने दमक–१ स्थित मुना स्टोर्सलाई सचेत गराइएको छ ।
अनुगमनका क्रममा म्याद गुज्रिएका तथा अखाद्य दुई लाख ४० हजार ४४३ रुपैयाँ बराबरका सामग्री नष्ट गरिएको जिल्ला प्रशासन कार्यालय झापाले जनाएको छ ।
कार्यालयले उपभोक्ताको स्वास्थ्य र हित संरक्षणका लागि बजार अनुगमनलाई निरन्तरता दिने जनाएको छ । साथै, उपभोक्तामैत्री बजार निर्माणमा सहयोग गर्न सबै सरोकारवालालाई आग्रह गरेको छ । ०००००



.jpeg)


-1758972041.jpeg)



प्रतिकृया दिनुहोस