फ्रान्समा पहिलोपटक मानिसमा शामोन्डा भाइरस पुष्टि, सङ्क्रमितको मृत्यु
बिर्तामोड, ७ कार्तिक ।
फ्रान्समा पहिलोपटक मानिसमा शामोन्डा भाइरसको सङ्क्रमण पुष्टि भएको छ । सङ्क्रमित व्यक्तिको मृत्यु भए पनि विश्व स्वास्थ्य सङ्गठनले हालसम्म यो एकल घटना रहेको र सर्वसाधारणमा व्यापक जोखिम नदेखिएको जनाएको छ ।
सङ्गठनले फ्रान्सेली अधिकारीहरूसँग समन्वय गरी घटनाको नजिकबाट निगरानी गरिरहेको जनाएको छ । थप जानकारी प्राप्त भएपछि अद्यावधिक विवरण सार्वजनिक गरिने पनि सङ्गठनले बताएको छ ।
शामोन्डा भाइरस मुख्यतः गाईवस्तुमा देखिने भाइरस हो । विश्व स्वास्थ्य सङ्गठनका अनुसार सन् १९६५ मा नाइजेरियामा पहिलोपटक गाईवस्तुमा यो भाइरस पहिचान गरिएको थियो । गाईबाहेक भेडा, बाख्रा, घोडा र अल्पाकामा पनि यसको सङ्क्रमण देखिएको छ ।
विश्व पशु स्वास्थ्य सङ्गठनका अनुसार सङ्क्रमित जनावरमा ज्वरो आउने, पखाला लाग्ने र दूध उत्पादन घट्नेजस्ता लक्षण देखिन सक्छन् । गर्भवती जनावरमा सङ्क्रमण हुँदा जन्मिने बच्चामा जन्मजात असामान्यता पनि देखिन सक्छ ।
यसअघि अफ्रिका र जापानमा देखिएको यो भाइरस सन् २०२६ को गर्मीयाममा जर्मनी र स्विट्जरल्यान्डका गाईवस्तुमा पनि पहिचान भएको थियो । त्यसपछि अस्ट्रिया, बेल्जियम र फ्रान्सका जनावरमा समेत सङ्क्रमण भेटिएको छ ।
यो भाइरस मुख्यतः कुलिकोइडिस नामक सानो उड्ने किराको टोकाइबाट जनावरमा सर्छ। सामान्य अवस्थामा एउटा जनावरबाट अर्कोमा सरेको प्रमाण छैन । तर, सङ्क्रमित गर्भवती जनावरबाट भ्रूणमा सङ्क्रमण सर्न सक्ने बताइएको छ ।












प्रतिकृया दिनुहोस