एशिया कप राइजिङ स्टार्समा नेपालले पहिलो खेल भारत ‘ए’ सँग खेल्ने
बिर्तामोड, ८ कार्तिक ।
कतारमा आयोजना हुने एसीसी पुरुष एसिया कप राइजिङ स्टार्स क्रिकेट प्रतियोगितामा नेपालले आफ्नो पहिलो खेल भारत ‘ए’ सँग खेल्ने भएको छ । एसियन क्रिकेट काउन्सिलले सार्वजनिक गरेको खेलतालिकाअनुसार नेपालले नोभेम्बर २० अर्थात् मंसिर ४ गते भारत ‘ए’ सँग प्रतिस्पर्धा गर्नेछ । दोहास्थित वेस्ट इन्ड इन्टरनेसनल क्रिकेट स्टेडियममा हुने खेल नेपाली समयअनुसार दिउँसो पौने ४ बजे सुरु हुनेछ । नोभेम्बर १९ अर्थात् मंसिर ३ गतेदेखि सुरु हुने प्रतियोगितामा आठ टोली सहभागी हुनेछन् । नेपाल समूह ‘बी’ मा रहेको छ। यस समूहमा भारत ‘ए’, पाकिस्तान ‘ए’ र संयुक्त अरब इमिरेट्स पनि छन् । नेपालले समूह चरणको दोस्रो खेल मंसिर ६ गते यूएईसँग खेल्नेछ। समूह चरणको अन्तिम खेलमा नेपालले पाकिस्तान ‘ए’ को सामना गर्नेछ । प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्दै अघिल्लो चरणमा पुग्ने लक्ष्यसहित नेपाली टोली मैदानमा उत्रनेछ ।











प्रतिकृया दिनुहोस