इरानमाथि फेरि सैन्य आक्रमण गर्ने ट्रम्पको सङ्केत

विर्तामोड, ७ कात्तिक । 
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानमाथि पुनः सैन्य कारबाही गर्न सक्ने सङ्केत दिनुभएको छ । उहाँले आवश्यक परे इरानको सम्पूर्ण तेल कब्जा गर्न वा पूरै देशलाई नियन्त्रणमा लिन सकिने दाबी गर्नुभएको छ ।
फ्लोरिडामा आयोजित एक ¥यालीमा सहभागी हुन ह्वाइट हाउसबाट निस्कने क्रममा पत्रकारहरूसँग कुरा गर्दै राष्ट्रपति ट्रम्पले इरान अहिले निकै कमजोर अवस्थामा रहेको बताउनुभयो । उहाँले चाहेको खण्डमा अमेरिकाले इरानको तेल कब्जा गर्न र पूरै देश नियन्त्रणमा लिन सक्ने उल्लेख गर्नुभयो ।
इरानसँगको द्वन्द्व अझै एक वर्षसम्म लम्बिन सक्ने संयुक्त राष्ट्रसङ्घका लागि अमेरिकी राजदूत माइक वाल्ट्जको भनाइबारे सोधिएको प्रश्नमा ट्रम्पले द्वन्द्व निकै छिटो अन्त्य गर्न सकिने बताउनुभयो ।
पछि फ्लोरिडाको ¥यालीलाई सम्बोधन गर्दै उहाँले इरानविरुद्ध अर्को सानो सैन्य कारबाही सञ्चालन गर्न सकिने सङ्केत गर्नुभयो । ‘एपिक फ्युरी’ नाम दिइएको उक्त कारबाही यसअघि फेब्रुअरी २८ मा अमेरिकाले इजरायलसँगको समन्वयमा इरानविरुद्ध सञ्चालन गरेको सैन्य अभियानसँग सम्बन्धित छ ।
अमेरिका र इजरायलले अमेरिकी मध्यावधि निर्वाचनपछि इरानमाथि पुनः आक्रमण गर्ने योजनाबारे छलफल गरिरहेको समाचार सार्वजनिक भइरहेका बेला ट्रम्पको यस्तो अभिव्यक्ति आएको हो । यद्यपि, अर्को सैन्य कारबाहीबारे उहाँले अन्तिम निर्णय गरिसक्नुभएको छ वा छैन भन्ने स्पष्ट भइसकेको छैन । पछिल्लो अभिव्यक्तिले अमेरिका र इरानबीचको तनाव थप चर्किन सक्ने सङ्केत गरेको छ । ०००००
 

प्रतिकृया दिनुहोस