ब्राजिलको राष्ट्रपतिमा लुला चौथो कार्यकालका लागि निर्वाचित

बिर्तामोड, ९ कार्तिक । 
ब्राजिलका वामपन्थी नेता लुइज इनासियो लुला डा सिल्भा चौथो कार्यकालका लागि राष्ट्रपतिमा निर्वाचित हुनुभएको छ । दोस्रो चरणको निर्वाचनमा उहाँले दक्षिणपन्थी उम्मेदवार फ्लाभियो बोल्सोनारोलाई पराजित गर्नुभएको हो ।
सुप्रिम इलेक्टोरल कोर्टले सार्वजनिक गरेको नतिजाअनुसार ९९ दशमलव ८ प्रतिशतभन्दा बढी मतगणना सम्पन्न हुँदा ८० वर्षीय लुलाले ५१ दशमलव ७६ प्रतिशत मत प्राप्त गर्नुभएको छ । उहाँका प्रतिस्पर्धी फ्लाभियो बोल्सोनारोले ४८ दशमलव २४ प्रतिशत मत पाउनुभएको छ ।
पहिलो चरणको मतदानमा फ्लाभियोले अग्रता लिनुभएको थियो। तर दोस्रो चरणमा लुलाले जित हासिल गर्नुभएको हो ।
ल्याटिन अमेरिकाका अर्जेन्टिना, चिली र कोलम्बियालगायत देशमा दक्षिणपन्थी नेताहरूको प्रभाव बढिरहेका बेला ब्राजिलमा लुलाको जितलाई क्षेत्रीय राजनीतिक दृष्टिले पनि महत्त्वपूर्ण मानिएको छ ।
लुलाले यसअघि सन् २००३ देखि २०१० सम्म र सन् २०२३ देखि राष्ट्रपतिको जिम्मेवारी सम्हाल्दै आउनुभएको छ । नयाँ कार्यकालमा उहाँले संसद्मा बलियो उपस्थिति रहेको दक्षिणपन्थी गठबन्धन र विभाजित जनमतबीच सरकार सञ्चालन गर्नुपर्ने चुनौती छ । 


 

प्रतिकृया दिनुहोस