चक्रवातको प्रभावले झापामा भारी वर्षाको जोखिम, सतर्क रहन प्रशासनको आग्रह

बिर्तामोड, ११ कात्तिक ।
झापामा चक्रवातको प्रभावका कारण हुन सक्ने धनजनको क्षति न्यूनीकरण गर्न जिल्ला प्रशासनले सर्वसाधारणलाई सतर्क रहन आग्रह गरेको छ ।
जल तथा मौसम विज्ञान विभाग र राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको पूर्वानुमानअनुसार कात्तिक १२ गते बिहीबारदेखि १४ गते शनिबारसम्म कोशीसहित देशका पाँच प्रदेशमा चट्याङ, हुरीबतास र मध्यमदेखि भारी वर्षाको सम्भावना छ । उच्च पहाडी तथा हिमाली क्षेत्रमा भारी हिमपात र हिमपहिरोको जोखिमसमेत रहेको छ ।
सम्भावित जोखिमलाई ध्यानमा राख्दै झापा जिल्ला रेडक्रसका प्रतिनिधि तथा सुरक्षा निकायसँगको बैठकले आवश्यक सतर्कता अपनाउन सर्वसाधारणलाई आग्रह गरेको हो ।
प्रशासनले किसानलाई धानबाली नकाट्न वा काटिसकेको भए सुरक्षित स्थानमा राख्न अनुरोध गरेको छ । अत्यावश्यक कामबाहेक लामो दूरीको यात्रा नगर्न, भारी वर्षाका बेला जोखिमयुक्त सडकमा सवारी नचलाउन तथा नदी र खोला किनारमा विशेष सावधानी अपनाउन पनि भनिएको छ ।
त्यस्तै, बाढी, डुबान र पहिरोको जोखिममा रहेका बस्तीका बासिन्दालाई सुरक्षित तथा अग्लो स्थानको पहिचान गरी आवश्यक परे तत्काल सुरक्षित स्थानमा सर्न आग्रह गरिएको छ । अकस्मात् बाढी आउन सक्ने खोला तथा खहरेको बाटो हुँदै यात्रा नगर्न र खोला किनारमा माछा मार्ने तथा दाउरा सङ्कलन गर्ने काम नगर्न पनि प्रशासनले सचेत गराएको छ ।
स्थानीय तह, सुरक्षा निकाय, स्वयंसेवक तथा विपद्सँग सम्बन्धित सबै निकायलाई पूर्वतयारी अवस्थामा रहन भनिएको छ । सर्वसाधारणलाई आधिकारिक निकायबाट जारी हुने मौसम पूर्वानुमान तथा पूर्वसूचनामात्र विश्वास गर्न पनि अनुरोध गरिएको छ ।
आपत्कालीन अवस्थामा वर्षा तथा बाढीसम्बन्धी जानकारीका लागि ११५५ मा सम्पर्क गर्न सकिनेछ । जिल्ला प्रहरी कार्यालयको हटलाइन नम्बर १०० रहेको छ । अन्य आपत्कालीन सम्पर्क नम्बरहरूमा  
जिल्ला प्रशासन कार्यालय झापा ९८५२६१७७७७ वा सूचना अधिकारी ९८५२६७८९९९
अरिदमन गण चारआली व्यारेक, झापा डिउटी अधिकृत ९८६२६९४७४८
सशस्त्र प्रहरी बल, नेपाल नं.२ गण हेक्वा झापा १११४ वा ९८५१२७२१२५
जिल्ला आपत्कलीन कार्यसंचालन केन्द्र १२३४ वा ९८५२६५४१२३  रहेको छन् ।
साथै जल तथा मौसम विज्ञान विभाग र यस प्राधिकरणबाट समय–समयमा जारी हुने अद्यावधिक पूर्वानुमान, पूर्वसूचना तथा चेतावनी सम्बन्धी जानकारी नियमित रूपमा लिइरहनु हुन समेत अनुरोध गरिन्छ । ००००००

 

प्रतिकृया दिनुहोस