सरकारले तोकेको मूल्यभन्दा ६०० रुपैयाँ सस्तोमा धान बेच्दै किसान
दाङ, १४ कात्तिक ।
दाङका किसानले सरकारले निर्धारण गरेको समर्थन मूल्यभन्दा प्रतिक्विन्टल ५०० देखि ६०० रुपैयाँसम्म सस्तोमा धान बिक्री गरिरहेका छन् ।
धान भण्डारण गर्ने ठाउँको अभाव र तिहारको खर्च जुटाउनुपर्ने बाध्यताका कारण किसानले स्थानीय व्यापारीलाई सस्तो मूल्यमा धान बेचिरहेका हुन् ।
खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले यस वर्ष मोटा धानको मूल्य प्रतिक्विन्टल तीन हजार ६६० र मध्यम धानको तीन हजार ८६० रुपैयाँ निर्धारण गरेको छ । तर, किसानले स्थानीय व्यापारीलाई प्रतिक्विन्टल तीन हजारदेखि तीन हजार १०० रुपैयाँसम्ममा धान बिक्री गरिरहेको बताएका छन् ।
दङ्गीशरण गाउँपालिका–३ की किसान माइली चौधरीले घरमा धान भण्डारण गर्ने ठाउँ नभएको र खाद्य कम्पनीले समयमै धान खरिद नगर्ने भएकाले सस्तोमा बेच्नुपरेको बताउनुभयो । उहाँले तिहारको खर्च जुटाउनसमेत समस्या भएपछि गाउँकै व्यापारीलाई धान बिक्री गरेको जानकारी दिनुभयो ।
स्थानीय किसान नवीन अधिकारीले पनि चक्रवातका कारण रातभरि थ्रेसर लगाएर धान तयार गरी खेतबाटै प्रतिक्विन्टल तीन हजार १०० रुपैयाँमा बिक्री गरेको बताउनुभयो । सरकारले समर्थन मूल्य तोके पनि खरिद प्रक्रिया ढिलो हुँदा किसानले घाटा बेहोर्नुपरेको उहाँको भनाइ छ ।
यता, खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड तुलसीपुरका निमित्त प्रमुख शक्तिराम डाँगीले केन्द्रबाट धानको समर्थन मूल्य निर्धारण भए पनि खरिद कोटा प्राप्त नभइसकेको बताउनुभएको छ । कोटा निर्धारणसम्बन्धी पत्र प्राप्त हुनासाथ खरिद सुरु गरिने उहाँले जानकारी दिनुभयो ।
कृषि ज्ञान केन्द्रका अनुसार दाङमा ३७ हजार २२५ हेक्टर क्षेत्रफलमा धानखेती हुँदै आएको छ । यसैबीच, बङ्गालको खाडीमा विकसित अर्नब चक्रवातका कारण लगातार वर्षा भएपछि खेतमा काटेर राखिएको धान भिज्ने र नोक्सान हुने चिन्ताले किसान थप समस्यामा परेका छन् । ०००००







.jpeg)



प्रतिकृया दिनुहोस