धरानमा २१० किलो गाँजासहित पाँच जना पक्राउ

बिर्तामोड, १६ कार्तिक । 
सुनसरीको धरान उपमहानगरपालिका–२० च्यानडाँडाबाट प्रहरीले करिब २१० किलो गाँजासहित पाँच जनालाई पक्राउ गरेको छ । सोमबार बिहान करिब ३ बजे दुईवटा जिपमा गाँजा लोड भइरहेको अवस्थामा प्रहरीले उनीहरूलाई नियन्त्रणमा लिएको हो । गाँजा बोकेर भाग्न खोजेपछि प्रहरीले दुई राउन्ड हवाई फायर गरेको जनाएको छ ।
गोप्य सूचनाका आधारमा बा १ च ५०३८ र को १ च ८१८२ नम्बरका जिपमा खानतलासी गर्दा आठवटा पोकामा राखिएको गाँजा बरामद भएको प्रहरीले जनाएको छ । पक्राउ पर्नेमा सप्तरीका रामसागरकुमार यादव, राजेन्द्रप्रसाद मण्डल र राजकुमार शाह, भारतको बिहारका सन्तोष ठाकुर तथा धरानका अमृत बिशुङ्खेल रहेका छन् । पक्राउ परेका पाँचै जनालाई नियन्त्रणमा लिएर घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । 


 

प्रतिकृया दिनुहोस