एमालेविरुद्धका भ्रम र अफवाहको तथ्यका आधारमा खण्डन गर्न बरिष्ठ नेता विद्या भण्डारीको निर्देशन 

काठमाडौं, १८ कात्तिक । 
नेकपा एमालेकी वरिष्ठ नेता विद्या भण्डारीले पार्टीका बारेमा फैलाइएका भ्रम, गलत सूचना र अफवाहको तथ्य र प्रमाणका आधारमा खण्डन गर्नुपर्ने बताउनुभएको छ ।
प्रवासी नेपाली मञ्च अन्तर्राष्ट्रिय कमिटीको दोस्रो अधिवेशनलाई सम्बोधन गर्दै उहाँले एमाले जनताको बहुदलीय जनवादको मार्गदर्शनमा अघि बढिरहेको पार्टी भएको बताउनुभयो ।
एमालेले लोकतान्त्रिक प्रणालीको स्थापना र सुदृढीकरण, राष्ट्रिय स्वाभिमान तथा सार्वभौमसत्ताको रक्षा र सामाजिक–आर्थिक रूपान्तरणमा महत्त्वपूर्ण योगदान गर्दै आएको उहाँको भनाइ थियो ।
पार्टीले देश र जनताको हितमा गरेका काम तथा हासिल गरेका उपलब्धिबारे सही सूचना प्रवाह गर्न र तिनको वस्तुनिष्ठ मूल्याङ्कन गर्न आवश्यक रहेको उहाँले बताउनुभयो ।
नेता भण्डारीले महिला र युवालाई नेतृत्वमा अघि बढ्ने अवसर र उपयुक्त वातावरण सिर्जना गर्न पनि जोड दिनुभयो । प्रवासमा रहेका श्रमिक, विद्यार्थी, व्यवसायी, महिला, युवा तथा विभिन्न पेसामा संलग्न नेपालीका फरक–फरक समस्या र सरोकारलाई समेटेर सङ्गठनका गतिविधि सञ्चालन गर्नुपर्ने उहाँको भनाइ थियो ।
त्यस्तै, स्वदेशी निजी क्षेत्रसँग सहकार्य गरी उद्योग स्थापना, रोजगारी सिर्जना र प्रविधि हस्तान्तरणलाई प्रोत्साहन गर्नुपर्ने उहाँले बताउनुभयो । यसका लागि सरकारले लगानीमैत्री वातावरण निर्माण गर्नुका साथै नीतिगत स्थिरता र लगानीको सुरक्षा सुनिश्चित गर्नुपर्नेमा उहाँले जोड दिनुभयो । ०००००
 

प्रतिकृया दिनुहोस