कानुनको शासन र नैतिक आचरण सुशासनका आधारः राष्ट्रपति पौडेल
काठमाडौं, १८ कात्तिक ।
राष्ट्रपति रामचन्द्र पौडेलले सार्वजनिक स्रोतसाधनको सदुपयोग, भ्रष्टाचारप्रति शून्य सहनशीलता, कानुनको शासन र नैतिक आचरण सुशासनका प्रमुख आधार भएको बताउनुभएको छ ।
दक्षिणकाली नगरपालिकाको नवनिर्मित प्रशासकीय भवनको आज उद्घाटन गर्दै उहाँले सङ्घीय लोकतान्त्रिक गणतन्त्र स्थापनाका लागि नेपाली जनताले गरेको त्याग र बलिदानको उद्देश्य पनि सुशासन कायम गर्नु रहेको बताउनुभयो ।
राष्ट्रपति पौडेलले तीनै तहका सरकार जनताका अपेक्षा पूरा गर्न गम्भीर हुनुपर्नेमा जोड दिनुभयो । जनप्रतिनिधि तथा राष्ट्रसेवक कर्मचारीले सार्वजनिक पद र जिम्मेवारीलाई व्यक्तिगत सुविधा वा अधिकार नभई जनताको सेवा गर्ने अवसर र दायित्वका रूपमा लिनुपर्ने उहाँको आग्रह थियो ।
उहाँले प्रशासकीय भवन भौतिक संरचना मात्र नभई नागरिकले सेवा प्राप्त गर्ने विश्वासको केन्द्र र लोकतान्त्रिक शासन व्यवस्थाको स्थानीय आधारस्तम्भ भएको बताउनुभयो ।
नवनिर्मित भवनबाट प्रवाह हुने सेवा छिटो, छरितो, पारदर्शी, जवाफदेही र नागरिकमैत्री हुनुपर्ने उल्लेख गर्दै उहाँले प्रशासनिक कार्यशैलीलाई पनि प्रविधिमैत्री र परिणाममुखी बनाउनुपर्ने बताउनुभयो ।
सूचना प्रविधिको अधिकतम प्रयोग, अभिलेख व्यवस्थापन, डिजिटल सेवा र गुनासो सुनुवाइ प्रणालीलाई प्रभावकारी बनाउनुपर्नेमा उहाँले जोड दिनुभयो ।
राष्ट्रपति पौडेलले दक्षिणकालीलाई धार्मिक पर्यटनसँगै प्रकृति, संस्कृति र स्थानीय उत्पादनमा आधारित आकर्षक पर्यटकीय गन्तव्यका रूपमा विकास गर्न सकिने सम्भावना रहेकाले त्यसतर्फ ध्यान दिन पनि आग्रह गर्नुभयो । ०००००






.jpeg)


प्रतिकृया दिनुहोस