इजरायलमा नेतान्याहुका नीति उल्टाउने इसेनकोटको तयारी

इजरायल, २५ कात्तिक ।
इजरायलमा नयाँ संसद् गठन भएसँगै सरकार बनाउने जिम्मेवारी पाउनुभएका पूर्वसैनिक प्रमुख गदी इसेनकोटले प्रधानमन्त्री बेन्जामिन नेतान्याहुका प्रमुख नीतिहरू उल्टाउने तयारी गर्नुभएको छ ।
इसेनकोटले हमासको आक्रमणबारे सरकारी अनुसन्धान गर्ने, प्रधानमन्त्रीको कार्यकालको सीमा निर्धारण गर्ने र न्यायपालिकाको अधिकार कटौती गर्ने निर्णय खारेज गर्नेलगायतका विधेयक अघि सार्नुभएको छ । उहाँलाई नयाँ सरकार गठनका लागि छ हप्ताको समय दिइएको छ ।
गठबन्धन सरकार गठनको टुङ्गो नलागे पनि नेतान्याहुविरोधी विपक्षी दलहरूले संसद्मा बहुमत प्राप्त गरेका छन् । इसेनकोटले सबै नागरिकको प्रतिनिधित्व गर्ने सरकार बनाउने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।
यसैबीच, नेतान्याहुले अरब नेतृत्वका दलहरूले चुनाव चोरेको आरोप लगाउँदै उनीहरूसँग सहकार्य गर्ने विपक्षी नेताहरूको आलोचना गर्नुभएको छ । तर, इसेनकोटले इजरायलको यहुदी राष्ट्रको पहिचान स्वीकार गर्ने र हमासलाई आतङ्कवादी सङ्गठन मान्नेलगायतका सर्त पूरा भए अरब दलसँग सहकार्य गर्न सकिने बताउनुभएको छ ।
नेतान्याहुको अभिव्यक्तिलाई विभाजनकारी भन्दै इसेनकोटले उहाँ प्रधानमन्त्री पदमा रहन योग्य नभएको टिप्पणी गर्नुभएको छ । उहाँले नेतान्याहुको लिकुड पार्टीसँगको निर्धारित बैठकसमेत रद्द गर्नुभएको छ ।
यसैबीच, विपक्षी सांसदहरूले वर्तमान सभामुख अमिर ओहानालाई हटाउने प्रक्रिया अघि बढाएका छन् । नयाँ सभामुखका रूपमा इसेनकोटको याशर पार्टीका नेता मतन काहानालाई प्रस्ताव गरिएको छ । 
इसेनकोटले सरकार गठन गर्न नसकेसम्म नेतान्याहु र उहाँको मन्त्रिपरिषद् पदमै रहनेछन् । उहाँ असफल भए राष्ट्रपति आइज्याक हर्जोगले नेतान्याहुलाई पुनः सरकार गठनको अवसर दिन सक्नुहुनेछ ।
नेतान्याहुले इरानबाट हुन सक्ने आक्रमणको जोखिम देखाउँदै एकता सरकार बनाउन आग्रह गर्नुभएको छ । तर, उहाँबिनाको सरकार गठन भए भ्रष्टाचार मुद्दा तथा सन् २०२३ अक्टोबर ७ मा हमासले गरेको आक्रमण रोक्न नसकेको सुरक्षा कमजोरीबारे अनुसन्धानको दबाब बढ्न सक्ने देखिएको छ । ०००००
 

प्रतिकृया दिनुहोस