भोजपुरको तिवारीभञ्याङ–च्याङ्गे सडक कालोपत्रे सम्पन्न
भोजपुर, २५ कात्तिक ।
भोजपुरको पौवादुङमा गाउँपालिकाको गौरवको आयोजना पञ्चकन्या कृषि सडकअन्तर्गत तिवारीभञ्याङ–च्याङ्गे सडक कालोपत्रे सम्पन्न भएको छ । सडक कालोपत्रे भएपछि वर्षायाममा हिलाम्मे र हिउँदमा धुलाम्मे सडकमा यात्रा गर्नुपर्ने बाध्यता हटेको छ ।
मध्यपहाडी लोकमार्गको भोजपुर–लेगुवा सडकसँग जोडिएको तिवारीभञ्याङलाई शून्य विन्दु मानेर गाउँपालिकाको केन्द्र च्याङ्गेसम्म सडक कालोपत्रे गरिएको हो । गाउँपालिका उपाध्यक्ष ज्योत्सना राईका अनुसार तिवारीभञ्याङदेखि अँधेरीघाटसम्मको ३१ किलोमिटर सडकमध्ये च्याङ्गेसम्मको करिब दुई किलोमिटर सडक कालोपत्रे सम्पन्न भएको हो ।
सडकलाई दुई प्याकेजमा विभाजन गरी निर्माण गरिएको गाउँपालिकाले जनाएको छ । पहिलो प्याकेजमा तिवारीभञ्याङदेखि वडा नम्बर २ स्थित स्वास्थ्यचौकीसम्म र दोस्रो प्याकेजमा स्वास्थ्यचौकीदेखि गाउँपालिकाको केन्द्र च्याङ्गेसम्म कालोपत्रे गरिएको हो ।
गाउँपालिका अध्यक्ष किरण राईले सो सडकलाई भोजपुरलाई तराईका जिल्लासँग जोड्ने छोटो मार्गका रूपमा विकास गर्ने लक्ष्य रहेको बताउनुभएको छ । आगामी दिनमा अँधेरीघाटसम्मकै ३१ किलोमिटर सडक कालोपत्रे गर्ने योजना रहेको उहाँले जानकारी दिनुभयो ।
सडक निर्माणले स्थानीयको आवतजावत सहज हुनुका साथै कृषि उत्पादनको बजारीकरण, पर्यटन प्रवद्र्धन र आर्थिक गतिविधि विस्तारमा सहयोग पुग्ने अपेक्षा गरिएको छ । स्थानीयवासीले पनि सडक कालोपत्रे भएपछि दैनिक आवतजावतमा सहजता आएको र गाउँमा उत्पादित कृषि उपजले बजार पाउने सम्भावना बढेको बताएका छन् । ०००००











प्रतिकृया दिनुहोस