चारआली साना सहरी खानेपानीको महसुल घटाइयो

झापा, २५ कात्तिक । 
झापाको चारआली साना सहरी खानेपानी तथा सरसफाइ उपभोक्ता समितिले खानेपानीको मासिक महसुल घटाएको छ । निम्न आय भएका परिवारलाई राहत दिने उद्देश्यले समितिले महसुल घटाउने निर्णय गरेको हो ।
मेचीनगर नगरपालिका वडा नम्बर ११, १२ र १३ का उपभोक्तालाई खानेपानी सेवा प्रदान गर्दै आएको समितिले १० हजार लिटरसम्म पानी उपयोग गर्ने उपभोक्ताको मासिक महसुल २०० रुपैयाँबाट घटाएर १७५ रुपैयाँ कायम गरेको छ ।
त्यसैगरी, १० हजारदेखि २० हजार लिटरसम्म पानी उपयोग गर्नेले प्रतिहजार लिटर ३० रुपैयाँ तिर्नुपर्नेछ । यसअघि उक्त शुल्क ३२ रुपैयाँ थियो ।
२० हजारदेखि ३० हजार लिटरसम्म पानी खपत गर्ने उपभोक्ताका लागि प्रतिहजार लिटर महसुल ४२ रुपैयाँबाट घटाएर ४० रुपैयाँ कायम गरिएको छ । त्यस्तै, ३१ हजार लिटरभन्दा बढी पानी उपयोग गर्नेले अब प्रतिहजार लिटर ६० रुपैयाँ तिर्नुपर्नेछ । यसअघि ६५ रुपैयाँ थियो ।
समितिका अध्यक्ष राजन चिमौरियाले शुद्ध खानेपानी नागरिकको आधारभूत अधिकार भएकाले निम्न वर्गीय परिवारको पहुँच सहज बनाउन साधारणसभाबाट महसुल घटाउने प्रस्ताव पारित गरिएको बताउनुभयो ।
उहाँका अनुसार घटाइएको नयाँ महसुल यही मङ्सिर महिनादेखि लागू हुनेछ । समितिमा हाल दुई हजार सात सय उपभोक्ता सदस्य आबद्ध रहेका छन् । ०००००

प्रतिकृया दिनुहोस