एनभिडिया प्रमुखसँगको विवादले अमेरिकामा चीनप्रति कडा नीति अपनाउन दबाब 

वासिङ्टन, २५ कात्तिक ।
एनभिडियाका प्रमुख कार्यकारी जेन्सेन हुआङसँग चीनका लागि जासुसी गरेको आशङ्का गरिएकी महिलाको सम्बन्ध रहेको खुलासापछि अमेरिकामा चीनप्रति कडा नीति अपनाउनुपर्ने बहस चर्किएको छ । यसले चीनमा उन्नत प्रविधि निर्यात गर्न राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनले दिएको अनुमतिमाथि पनि प्रश्न उठाएको छ ।
हुआङले सिङ्गापुरस्थित मेगास्पिडकी पूर्वकार्यकारी एलिस हुआङसँग सम्बन्ध रहेको स्वीकार गर्नुभएको छ । अमेरिकी गुप्तचर अधिकारीहरूले एलिस चिनियाँ गुप्तचर निकायका लागि काम गरिरहेको आशङ्का गरेका छन् । तर, राष्ट्रपति ट्रम्पले हुआङलाई सम्मानित व्यक्ति बताउँदै उहाँलाई ती महिला जासुस भएको जानकारी नभएको बताउनुभएको छ ।
हुआङको पैरवीपछि ट्रम्प प्रशासनले एनभिडियाको एच–२०० चिप चीनमा बिक्री गर्न अनुमति दिएको थियो । त्यसको विरोध गर्दै आएका अमेरिकी सांसदहरूले अहिलेको विवादलाई निर्यात नियन्त्रण कडा बनाउने अवसरका रूपमा लिएका छन् ।
रिपब्लिकन सांसदहरूले नोभेम्बर १८ मा हुआङसँग बन्द कोठामा छलफल गर्ने तयारी गरेका छन् । यसैबीच, एफबीआईले जासुसीको आरोप र न्याय मन्त्रालयले चिप तस्करीको आशङ्काबारे अनुसन्धान गरिरहेका छन् ।
यद्यपि, निर्यात नियन्त्रण कडा बनाउँदा अमेरिका–चीन व्यापार युद्धविराम प्रभावित हुने र चीनले प्रतिकारात्मक कदम चाल्न सक्ने चिन्ता पनि व्यक्त गरिएको छ । ०००००
 

प्रतिकृया दिनुहोस