मुम्बई र पन्जाबबीच हार्दिक पाण्ड्या र अर्शदीप सिंहको साटासाट प्रक्रिया पूरा 

विर्तामोड, २५ कात्तिक ।
इन्डियन प्रिमियर लिग (आईपीएल) २०२७ अघि मुम्बई इन्डियन्स र पन्जाब किङ्ग्सले हार्दिक पाण्ड्या र अर्शदीप सिंहको साटासाट प्रक्रिया पूरा गरेका छन् ।
सन् २०२४ देखि मुम्बईको कप्तानी सम्हाल्दै आएका अलराउन्डर हार्दिक अब पन्जाबमा हुनेछन् । यस्तै बायाँ हाते तीव्र गतिका बलर अर्शदीप पन्जाब छोडेर मुम्बईमा सामेल हुनेछन् ।
अर्शदीपले सन् २०१९ मा आईपीएलमा डेब्यु गरेदेखि नै पन्जाबको प्रतिनिधित्व गर्दै आएका छन् । 
आईपीएलका अनुसार हार्दिक १८ करोड भारुमा पन्जाबमा आबद्ध हुनेछन् जुन उनको अहिलेको १६.३५ करोड भारु पारिश्रमिकभन्दा धेरै हो । यस्तै अर्शदीप आफ्नो अहिलेको १८ करोड भारुकै पारिश्रमिकमा मुम्बईमा आबद्ध हुनेछन् ।
हार्दिक पञ्जाबमा आबद्ध हुने भएपछि अब आउँदो सिजनका लागि मुम्बईले नयाँ कप्तान खोज्नुपर्ने भएको छ ।
आईपीएलमा पन्जाब हार्दिकको तेस्रो टोली हुनेछ । उनले सन् २०१५ मा मुम्बईबाट आईपीएलमा डेब्यु गरेका थिए । पछि सन् २०२२ मा आईपीएल १० टोलीमा विस्तार भएपछि उनी गुजरात टाइटन्समा आबद्ध भएका थिए । हार्दिकले दुई सिजनसम्म गुजरातको प्रतिनिधित्व गरे र कप्तानको भूमिका पनि निभाए । सन् २०२४ मा उनी मुम्बईमा फर्किए । हार्दिकले मुम्बईबाट पाँच पटक र गुजरातबाट एक पटक उपाधि जितेका छन् ।
हार्दिकको कप्तानीमा सन् २०२४ मा मुम्बई अङ्क तालिकाको अन्तिम स्थानमा रह्यो, तर त्यसपछिको सिजनमा टोली प्लेअफसम्म पुग्न सफल भयो । यद्यपि सन् २०२६ मा टोली नवौँ स्थानमा सीमित रह्यो । सन् २०२४ यता हार्दिकको नेतृत्वमा मुम्बईले ३९ खेल खेलेकोमा १५ जीत र २४ हार बेहोरेको छ ।
यसैबीच, अर्शदीपले आठ सिजनमा पन्जाबका लागि ९६ खेल खेलमा १११ विकेट लिएका छन् । यो आईपीएलको १९ सिजनको इतिहासमा पन्जाबको कुनै पनि बलरले दिएको सबैभन्दा धेरै विकेट हो । ००००
 

प्रतिकृया दिनुहोस