अर्थतन्त्रलाई चलायमान बनाउन असान्दर्भिक कानुन खारेज गरिँदै
काठमाडौँ, ७ मङ्सिर ।
कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले अर्थतन्त्रलाई चलायमान बनाउन बाधक बनेका पुराना तथा असान्दर्भिक कानुन खारेज र संशोधन गर्न लागिएको बताउनुभएको छ ।
प्रतिनिधिसभाको अर्थ समितिमा अर्थसम्बन्धी केही नेपाल कानुनलाई संशोधन र खारेज गर्ने विधेयक, २०८३ माथिको छलफलमा उहाँले नागरिक तथा व्यवसायीको आर्थिक स्वतन्त्रता कुण्ठित गर्ने, व्यवसायको लागत बढाउने र अनावश्यक नियन्त्रण गर्ने कानुन हटाउन प्रक्रिया अघि बढाइएको जानकारी दिनुभयो ।
उच्चस्तरीय आर्थिक सुझाव आयोगको प्रतिवेदन र आर्थिक सुधारको मार्गचित्र, २०८१ का सुझावका आधारमा कानुन खारेजी तथा संशोधन गर्न लागिएको उहाँले स्पष्ट पार्नुभयो ।
सरकारले प्रादेशिक विकास आयोजना कार्यान्वयन ऐन, नेपाल मुद्राको चलनचल्ती बढाउने ऐन, आय टिकट दस्तुर ऐन, राजस्व चुहावट अनुसन्धान तथा नियन्त्रण ऐन र वित्तीय मध्यस्थतासम्बन्धी ऐनलगायत पुराना छवटा कानुनी व्यवस्था खारेज गर्ने प्रस्ताव गरेको छ ।
त्यस्तै, मूल्य अभिवृद्धि कर ऐन, आयकर ऐन र भन्सार ऐन संशोधन गर्न विधेयकमा प्रस्ताव गरिएको मन्त्री गौतमले बताउनुभयो ।
अर्थतन्त्रका अप्ठ्यारा पहिचान गरी सहज वातावरण निर्माण गर्ने उद्देश्यले सरकारले विधेयक ल्याएको उल्लेख गर्दै उहाँले थप सुधारका विषयमा पनि छलफल गर्न सरकार तयार रहेको बताउनुभयो ।
सम्बन्धित मन्त्रीको उपस्थिति नभएको भन्दै सांसदहरूले ध्यानाकर्षण गराएपछि अर्थ समितिका सभापति डा. कृष्णहरि बुढाथोकीले बैठक १० मिनेटका लागि स्थगित गर्नुभएको थियो । ०००००




.png)






प्रतिकृया दिनुहोस