चलचित्र क्षेत्रको बदलिँदो स्वरूपअनुसार नयाँ कानुन ल्याइँदै : सञ्चारमन्त्री तिमिल्सिना
काठमाडौँ, ८ मङ्सिर ।
सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले चलचित्र क्षेत्रको बदलिँदो स्वरूप, प्रविधि र आवश्यकतालाई सम्बोधन गर्ने गरी नयाँ कानुन निर्माण गर्न लागिएको बताउनुभएको छ ।
प्रतिनिधिसभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिमा चलचित्र विधेयक, २०८१ माथिको दफावार छलफलमा सहभागी हुँदै उहाँले चलचित्रलाई मनोरञ्जनको साधनमा मात्र सीमित नराखी कला, संस्कृति, भाषा, सिर्जनशीलता र आर्थिक विकासमा योगदान पु¥याउने उद्योगका रूपमा विकास गर्न नयाँ कानुन आवश्यक रहेको बताउनुभयो ।
मन्त्री तिमिल्सिनाले चलचित्रको सेन्सर र वर्गीकरणबीचको भिन्नता स्पष्ट पार्दै अन्तरराष्ट्रिय अभ्यासअनुसार कानुनी व्यवस्था परिमार्जन गर्नुपर्ने बताउनुभयो । कुन विषयमा सेन्सर आवश्यक पर्ने र कुन विषयलाई वर्गीकरणमार्फत व्यवस्थापन गर्न सकिने भन्ने कुरा कानुनमै स्पष्ट हुनुपर्ने उहाँको भनाइ थियो ।
उहाँले चलचित्र विकास बोर्डलाई थप स्वायत्त, अधिकारसम्पन्न र प्रभावकारी बनाउने व्यवस्था कानुनमा समेटिनुपर्ने बताउनुभयो । साथै सङ्घ, प्रदेश र स्थानीय तहका अधिकार तथा जिम्मेवारी स्पष्ट गरी अधिकारको दोहोरोपन हटाउनुपर्नेमा जोड दिनुभयो ।
प्रस्तावित विधेयकमा चलचित्र प्रदर्शनमा बक्स अफिस प्रणाली अनिवार्य गर्ने, चलचित्रकर्मीको श्रम अधिकार र सामाजिक सुरक्षा सुनिश्चित गर्ने, मातृभाषाका चलचित्रको प्रवद्र्धन तथा स्वदेशी चलचित्रको बजार विस्तार गर्ने व्यवस्था प्रस्ताव गरिएको छ ।
त्यस्तै, विदेशी लगानी आकर्षित गर्ने, नयाँ प्रविधिको प्रयोग व्यवस्थित गर्ने र नेपाललाई अन्तरराष्ट्रिय चलचित्र छायाङ्कन तथा निर्माणको आकर्षक गन्तव्य बनाउने लक्ष्य पनि विधेयकले राखेको छ ।
विसं २०२६ देखि कार्यान्वयनमा रहेको पुरानो चलचित्र ऐनलाई प्रतिस्थापन गर्न सरकारले यो विधेयक अघि बढाएको हो । बैठकमा समिति सभापति डा. ओजस्वी शेरचनले विधेयकका २६ वटा दफामा १ सय २२ वटा संशोधन प्रस्ताव परेको जानकारी दिनुभयो । समितिले संशोधनकर्ता सांसदहरूसँग पनि छलफल गरेको छ । ०००००











प्रतिकृया दिनुहोस