लगानीमैत्री वातावरण बनाउन कानुन संशोधन गर्ने परराष्ट्रमन्त्री खनालको धारणा
काठमाडौं, १३ मंसिर ।
परराष्ट्रमन्त्री शिशिर खनालले उद्योग, व्यवसाय र लगानीका लागि सहज वातावरण बनाउन सरकारले कानुन संशोधनको काम अघि बढाइरहेको बताउनुभएको छ ।
काठमाडौं क्षेत्र नम्बर ६ का बासिन्दासँगको भेटघाटमा उहाँले लगानीमैत्री वातावरण निर्माणका लागि कानुनी तथा नियामकीय सुधार सरकारको प्राथमिकतामा रहेको बताउनुभयो ।
केही हप्ताभित्रै संशोधन गर्न लागिएका कानुन र त्यसबाट व्यवसाय सञ्चालन तथा लगानीमा हुने सहजताबारे सार्वजनिक गरिने उहाँले जानकारी दिनुभयो । उद्योग व्यवसाय फस्टाए मात्रै रोजगारी सिर्जना र आर्थिक समृद्धिले गति लिने उहाँको भनाइ थियो ।
मन्त्री खनालले गैरआवासीय नेपालीले संविधान र कानुनले व्यवस्था गरेका अधिकार सहज रूपमा प्रयोग गर्न सक्ने वातावरण बनाउन पनि कानुनी सुधार भइरहेको बताउनुभयो ।
यस्तै, टोखा–छहरे सडक तथा प्रस्तावित सुरुङमार्गको रेखांकन र सडक मापदण्डबारे अहिलेसम्म कुनै अन्तिम निर्णय नभएको उहाँले स्पष्ट पार्नुभयो । सुरुङमार्गको प्रवेश तथा निकास बिन्दु र सडकको अन्तिम रेखांकनसमेत निश्चित नभएको भन्दै अध्ययनपछि मात्रै निर्णय हुने उहाँले बताउनुभयो ।
टोखा–छहरे सडकको मापदण्ड २०७६ सालमा निर्धारित व्यवस्था अनुसार नै रहेको र वर्तमान सरकारले त्यसमा परिवर्तन नगरेको उहाँको दाबी छ ।
मन्त्री खनालले काठमाडौं क्षेत्र नम्बर ६ मा साङ्ला खोला करिडोरलाई प्राथमिकताका साथ अघि बढाउने बताउँदै संघ, प्रदेश र स्थानीय तहका बजेट पारदर्शी बनाउनुपर्नेमा समेत जोड दिनुभयो । बजेट कहाँ र कति विनियोजन भएको छ भन्ने जानकारी जनताले पाउनुपर्ने र बजेटको प्रभावकारिता मूल्यांकनमा नागरिकको भूमिका महत्त्वपूर्ण हुने उहाँको भनाइ थियो । ०००००











प्रतिकृया दिनुहोस