खुम्बु पासाङल्हामु गाउँपालिकामा आइतबारको सार्वजनिक बिदा खारेज
सोलुखुम्बु, १३ मंसिर ।
सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिकाले आइतबार दिइँदै आएको सार्वजनिक बिदा खारेज गरेको छ ।
गाउँ कार्यपालिकाको १२१औँ बैठकले आइतबार पनि गाउँपालिका, वडा कार्यालय तथा स्वास्थ्य संस्थाहरू नियमित सञ्चालन गर्ने निर्णय गरेको हो । निर्णय आजदेखि लागू हुने गाउँपालिकाले जनाएको छ ।
गाउँपालिकाका अनुसार भौगोलिक बनावट र सवारी साधनमा पेट्रोलियम पदार्थको प्रयोग न्यून हुने भएकाले इन्धन बचतका लागि आइतबार बिदा दिनु सान्दर्भिक देखिएको छैन ।
त्यस्तै, आइतबार स्वास्थ्य संस्थामा बिदा हुँदा दुर्गम क्षेत्रका बिरामी उपचारबाट वञ्चित हुने र आकस्मिक सेवा प्रवाहमा समेत समस्या हुने गरेको गाउँपालिकाले जनाएको छ ।
नागरिकलाई प्रशासनिक सेवा छिटो, छरितो र प्रभावकारी रूपमा उपलब्ध गराउने उद्देश्यले सातै दिन कार्यालय सञ्चालन गर्ने निर्णय गरिएको हो ।
अब आइतबार पनि अन्य कार्यदिनसरह कार्यालय तथा स्वास्थ्य संस्था सञ्चालन हुनेछन् । नियमित समयमा बिहान १० देखि अपराह्न ५ बजेसम्म र शुक्रबार बिहान १० देखि दिउँसो ३ बजेसम्म सेवा उपलब्ध हुनेछ ।
यस्तै, माघ १५ गतेसम्म लागू हुने जाडोयामको समयमा भने आइतबारदेखि बिहीबारसम्म बिहान १० देखि अपराह्न ४ बजेसम्म र शुक्रबार दिउँसो ३ बजेसम्म कार्यालय सञ्चालन हुने गाउँपालिकाले जनाएको छ । ०००००










प्रतिकृया दिनुहोस