भरतपुरको क्रिकेट रङ्गशाला निर्माण २०८३ साल पुस २२ गतेभित्र सक्नुपर्ने 

विर्तामोड, २४ असार ।

चितवनको भरतपुरमा निर्माणाधीन गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला निर्माणका लागि भरतपुर महानगरपलिका र ठेकेदार कम्पनीबीच सम्झौता भएको छ । 
३० महिनाभित्र रङ्गशालाको पहिलो चरणको निर्माण सक्ने गरी निर्माण कम्पनी हिमालयन कालिञ्चोक बीबीआर जेभीसँग सम्झौता गरिएको भरतपुर महानगरपलिकाका प्रमुख प्रशासकीय अधिकृत लक्ष्मीप्रसाद पौडेलले जानकारी दिनुभयो ।
सम्झौतामा रङ्गशालाको काम २०८३ साल पुस २२ गतेभित्र सक्ने उल्लेख छ । सम्झौतामा उल्लेख भएअनुसार निर्माण कम्पनीले रङ्गशालामा मैदानसहित पाँच वटा पिच, तीन÷तीन तलाको दुईवटा टावर, १० हजार क्षमताको प्याराफिटसहित मैदान लगायतका निर्माण गर्नेछ ।
आयोजनाको सम्झौता लागत ७५ करोड ५० लाख ९१ हजार एक सय ८९ रुपैयाँ रहेको छ । रङ्गशाला निर्माणका लागि आउँदो आर्थिक वर्ष संघीय सरकारले २५ करोड र भरतपुर महानगरपालिकाले चार करोड ८० लाख रुपैयाँ बजेट विनियोजन गरेका छन् ।
यस्तै बागमती प्रदेश सरकारले कुल ठेक्का रकमको ७० प्रतिशत रकम व्यहोर्ने निर्णय गरेको छ । शुरु रङ्गशाला निर्माण थालेको धुर्मस–सुन्तली फाण्डेशनले पाँच हजार बस्ने प्याराफिट तयार गरिसकेको छ । धुर्मस–सुन्तली फाण्डेशनले चन्दा सङ्कलन गरी बनाउन शुरु गरेको रङ्गशाला बजेट अभाव भएको भन्दै २०७८ साउन २२ गतेदेखि  पूर्ण रूपमा काम रोकेको थियो । ०००००० 
 

प्रतिकृया दिनुहोस