कोशीमा मन्त्रिपरिषद् बिस्तार गर्न अझ केही दिन लाग्छ : मुख्यमन्त्री कार्की

मोरङ, १९ भदौ ।
कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले मन्त्रिपरिषद् बिस्तार गर्न अझ केही दिन लाग्ने बताउनुभएको छ ।
आज विराटनगर विमानस्थलमा पत्रकारहरूसँगको कुराकानीमा उहाँले तीज पछि मात्रै सरकार विस्तार हुने जानकारी दिनुभयो । उहाँले काँग्रेसलाई सरकार बिस्तारको लागि गति बढाउन आग्रह गर्नुभयो । उहाँले भन्नुभयो, ‘काँग्रेसको हिँडाइ बिस्तारै भयो, गति बढाउनुहोस् ।’
मुख्यमन्त्री कार्कीले काँग्रेसकै आफ्नो कारणले सरकार बिस्तारमा ढिलाइ भएको बताउँदै अब चाडै मन्त्रिपरिषद् बिस्तार हुन्छ ।
उहाँले सरकार बिस्तारमा ढिलाइ हुँदा सरकारको काममा पनि असर परेको बताउँदै जति चाँडो सरकार बिस्तार हुन्छ त्यति सरकारले गति लिने बताउनुभयो । अहिलेको सरकार शासकीय सुधार तर्फ लागेको र विकासका योजनाहरूलाई तीव्र गति दिइने बताउनुभयो । फरक प्रसङ्गमा पत्रकारहरूको प्रश्नको जवाफ दिँदै मुख्यमन्त्री कार्कीले सरकारका बारेमा नमिठो बोल्यो भनेर कसैसँग लाप्पा खेल्न जान नहुने टिप्पणी गर्नुभयो । उहाँले भन्नुभयो, ‘अमर्यादित बोल्ने, तथ्य बिना बोल्नेसँग केही गर्न सकिँदैन, हामी हाम्रो काम विश्वासिलो ढङ्गले गरेर अगाडि बढ्छौँ । कसैले नमिठो बोल्यो भन्दैमा लाप्पा खेल्न जाने कुरा भएन ।’
सरकार गतिशिल र व्यवस्थित ढंगले अगाडि बढिसकेको सन्दर्भमा कसले के भन्यो त्यता तिर जाने नभइ काम गर्न लागि पर्ने उहाँले बताउनुभयो ।  ००००००००
 

प्रतिकृया दिनुहोस