मेचीनगरमा ‘सञ्चार ऐन’को मस्यौदा सार्वजनिक
.jpeg)
बिर्तामोड, १२ जेठ ।
झापाको मेचीनगर नगरपालिकाले पत्रकारको हक, हित र सुरक्षाका लागि झापामा पहिलो पटक ‘मेचीनगर सञ्चार ऐन–२०८२’ ल्याउन लागेको छ ।
आज नगरपालिकाले आयोजना गरेको सञ्चार ऐन सम्बन्धी कानूनको मस्यौदाका बारेमा सञ्चारकर्मी र सरोकारवालासँग छलफल गरेकोे छ ।
नगरपालिकाले तयार गरेको प्रस्तावित सञ्चार ऐन सम्बन्धी मस्यौदाको बारेमा पत्रकार एवम् अधिवक्ता तारामणि सापकोटाले प्रोजेक्टर मार्फत सबैलाई जानकारी गराउनुभएको थियो ।
आगामी नगरसभामा नीति तथा कार्यक्रमको बजेटमा समावेश गर्ने गरी नेपालको संविधानको धारा २२६ (१) बमोजिम नगरपालिकामा सञ्चालन हुने आमसञ्चार माध्यमको दर्ता, सूचीकरण तथा अभिलेखिकरण गरी तीनको नियमन तथा पत्रकार आचासंहिताको कार्यान्वयन तथा व्यवसायिक पत्रकारिताको विकास गर्न बाञ्छनीय भएकाले ‘मेचीनगर सञ्चार ऐन–२०८२’ ल्याउन लागेको छ ।
१२ वटा परिच्छेद रहेको मेचीनगर सञ्चार सम्बन्धी व्यवस्था गर्न बनेको विधेयकमा संक्षिप्त नाम र प्रारम्भ, मेचीनगर सञ्चार प्रतिष्ठानको गठन, पत्रपत्रिका सम्बन्धी व्यवस्था, प्रसारण सम्बन्धी व्यवस्था, अनलाइन माध्यम सम्बन्धी व्यवस्था, विज्ञापन सम्बन्धी व्यवस्था, छात्रवृति सम्बन्धी व्यवस्था, प्रेस संयोजक सम्बन्धी व्यवस्था, आमसञ्चार सम्बन्धी व्यवस्था प्रतिष्ठान सम्बन्धी व्यवस्था, सजाय र पुनरावेदन सम्बन्धी व्यवस्था र विविध विषय रहेको छ ।
नगरप्रमुख गोपालचन्द्र बुढाथोकीले सञ्चार ऐन सम्बन्धी प्रस्तावित मस्यौदाको फेरि सबैसँग बसेर छलफल गरेपछि पारित गरिने जानकारी दिनुभयो ।
छलफलमा नगरप्रमुख बुढाथोकी, उपप्रमुख मीना पोखरेल उप्रेती, प्रमुख प्रशासकीय अधिकृत अग्निप्रसाद अधिकारी, पत्रकारहरु मोहन काजी, ज्ञानेन्द्र निरौला, मुक्ति पौडेल, लक्ष्मी उप्रेती, प्रविण अधिकारी, वडाध्यक्षहरु, कर्मचारीहरु लगायतको सहभागिता रहेको थियो ।
यसैबीच, आजै नेपाल पत्रकार महासंघ झापा शाखाले पनि सञ्चार ऐन लगायत सञ्चारकर्मीहरुको हक, हित र सुरक्षाका लागि मेचीनगर नगरपालिकामा ज्ञापनपत्र बुझाएको छ ।
महासंघ झापाका कोषाध्यक्ष मुक्ति पौडेलले नगरप्रमुख बुढाथोकीलाई ज्ञापनपत्र बुझाउनुभएको हो । त्यसको सहजीकरण पत्रकार प्रविण अधिकारीले गर्नुभएको थियो । महासंघको झापाका सबै पालिकामा ज्ञापनपत्र बुझाउने कार्यक्रम रहेको छ । ००००००
प्रतिकृया दिनुहोस