भारतबाट आयात हुने मरेका माछाको विक्री वितरण रोक्न कठिनाई भएको छ : नगरप्रमुख प्रसाई

बिर्तामोड, १२ जेठ ।

झापाको बिर्तामोड नगरपालिकाकी नगरप्रमुख पवित्रा महतारा प्रसाईले भारतबाट आयात हुने मरेका माछाको विक्री वितरण रोक्न कठिनाई भएको बताउनु भएको छ । 
नगरपालिकाले आयोजना गरेको माछापालन तथा व्यवस्थापन सम्बन्धि २ दिने तालिम समापन कार्यक्रममा बोल्दै उहाँले जिल्लाका अन्य पालिकाले मरेका माछाको आयात तथा बिक्री वितरणलाई खुला छोडेका कारण बिर्तामोडमा नियन्त्रण गर्न समस्या भएको बताउनु भएको हो । बिर्तामोडमा २०७९ साल असोज ६ गते बसेको कार्यपालिकाको बैठकले भारतबाट आयात हुने अस्वस्थकर माछा विक्री वितरण गर्न निषेध गरेको थियो । 
बिर्तामोडमा अहिले  विषादी हालिएका मरेका माछा प्रयाप्त पाउने गरेको छ । उपभोक्ताले समेत स्वास्थ्यको कुनै ख्याल नगरी विषाक्त फर्मालिन हालिएका माछा खरिद गरेर खाने गरेका छन् । स्थानीय ताजा माछाको बजार भने खुम्चिएको छ । नगर प्रमुख प्रसाईले स्थानीय माछाको बजारीकरणमा जोड दिँदै आवश्यक अनुगमन गर्ने बताउनु भयो । 
तालिम समापन कार्यक्रममा बोल्दै नगर उप प्रमुख नगेन्द्र प्रसाद संग्रौलाले मत्स्य पालन व्यवसायमा विद्युतमा ठुलो खर्च आउने भएकाले यसमा सहुलियतका लागि सम्बन्धित निकायमा छलफल गर्ने बताउनु भयो । 
यस्तै तालिममा सहभागि वडा नम्बर ३ स्थित हरियाली कृषि फर्मका सञ्चालक हरिप्रसाद मैनालीले सरकारले सहुलियत प्रदान गरे बिर्तामोडलाई माछाको हव बनाउने बताउनु भयो । जिल्लामात्र नभइ कोशी प्रदेशलाई नै पुग्नेगरी माछा उत्पादन गर्न सकिने भन्दै उहाँले सिँचाईमा सहयोगको लागि आग्रह गर्नु भयो । 
आईतबारदेखि सञ्चालन भएको तालिममा  नगरका २५ जना कृषकको सहभागिता  थियो । तालिममा कृषि अनुसन्धान निर्देशनालय तरहरा सुनसरीबाट आउनु भएका सुरज कुमार सिंहले माछामा लाग्ने रोग, आवश्यक औषधी, माछाको वृद्धि विकास, गुणस्तरिय माछा उत्पादन लगायतका विषयमा प्रशिक्षण दिनु भएको थियो । तालिम समापन कार्यक्रममा कार्यपालिका सदस्य संगिता सिवा, पशुपंछि तथा मत्स्य विकास शाखा प्रमुख डा. नगेन्द्र खड्का, अधिकृत सावित्रा दाहाल लगायतको उपस्थिति रहेको थियो ।  ००००००
 

प्रतिकृया दिनुहोस