२०८४ सालमा झापाको कुनै क्षेत्रबाट निर्वाचन लड्छु : प्रचण्ड

विर्तामोड, ३० भदौ ।

नेकपा मोओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले ८४ सालमा झापाको कुनै क्षेत्रबाट निर्वाचन लड्न सक्ने दाबी गर्नुभएको छ । झापामा माओवादीप्रति आकर्षण बढिरहेको दाबी गर्दै उहाँले आगामी निर्वाचनमा झापाबाट नै टक्कर दिने मनस्थिति सिर्जना भएको बताउनुभयो ।
‘जित सत्य र न्यायको हुन्छ कि, बेइमानहरुको हुन्छ भनेर हेर्नका लागि पनि झापाबाटै टक्कर दिने सोच बनाएको छु’, प्रचण्डले भन्नुभयो, तेस्रो कार्यकालमा जनताको पक्षमा अलिकति काम गर्न सकेको कारणले जनताले हामीलाई खोजिरहेका छन्, शिक्षित झापाली जनताले हामीमाथि न्याय गर्छन् भन्ने अपेक्षा पार्टीको छ ।’
‘तेस्रो पटक सरकारमा सहभागी हुँदा नराम्रो गर्दै नगर्ने, सबै राम्रो मात्र गर्ने सङकल्प गरेका थियौं’, प्रचण्डले भन्नुभयो– ‘जनताको भरोसाको सरकार बनाउनु पर्छ भनेर भ्रष्टाचारको फाइल खोल्न थाल्यांै, नक्कली भुटानी शरणार्थी काण्डका अन्तिम दुई जना पक्राउ गर्दा थाहा पायौं, भ्रष्टाचारको सुई बालकोट र बुढानिलकण्डतर्फ तेर्सियो ।’ 
त्यसपछि आफु फसिने डरले पहिलो र दोस्रो समावेश गरेर सरकार निर्माण भएको उहाँले आरोप लगाउनुभयो । यतिबेला जनतामा माओवादीले मात्र जनमुखी काम गर्छ भन्ने छाप स्थापित भएको उहाँले दाबी गर्नुभयो ।
‘जनतामाझ हाम्रो प्रभाव बढ्न थालेपछि एकथरी प्रतिक्रियावादीहरु हामीलाई फुटाउने प्रयास गरिरहेका छन् । यो कुरा नयाँ होइन, जनयुद्ध, जनआन्दोलन, शान्ति प्रक्रिया लगायतका समयमा पनि पार्टी फुटाउने प्रयास भएका हुन्, हामीले ती सबै प्रयासहरुलाई निरर्थक बनायौं’, प्रचण्डले भन्नुभयो– ‘केहिदिन अघि सम्पन्न स्थायी कमिटीको बैठकले फुटवादी मानसिकतालाई सधैको लागि अन्त्य गरेको छ, हामी अहिले एकढिक्का मात्र होइन, बाटो बिराएर अन्यत्र गएका साथीहरु पनि चाँडै एकिकृत हुँदैछौं ।’
आगामी निर्वाचनबाट नेकपा माओवादी पार्टी मुलुककै ठुलो दलका रुपमा उदाउने उहाँले दाबी गर्नुभयो । झापाको बिर्तामोडमा प्रशिक्षण तथा पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै प्रचण्डले मुलुकमा माओवादी र गैर माओवादीबीच ध्रुविकरण सुरु भएको बताउनुभयो ।
मोरङ, सुनसरी र झापाका बिभिन्न कार्यक्रममा सहभागी हुन पुर्व आउनुभएका प्रचण्डले ६४ सालमा माओवादीलाई मत दिएका मतदाताको मनोबिज्ञान बुझ्न जिल्ला तहका नेतालाई निर्देशन दिनुभयो । उहाँले ६४ मा मत दिने जनतासँग माफी माग्न, बिदेश गएका नागरिकको सुचि तयार गर्न र ६४ को निर्वाचनका समयमा नाबालक रहेका जनताको मनोबिज्ञान अध्ययन गरेर उनीहरुको अपेक्षा अनुसार अगाडि बढ्न कार्यकर्तालाई निर्देशन दिनुभयो ।
जनयुद्ध गरिरहेका माओवादीलाई नेपाली राजनीतिको मुलधारमा कांग्रेस र एमालेले ल्याएको भनेर गलत प्रचार गरिरहेको उहाँले दाबी गर्नुभयो । ००००००
 

प्रतिकृया दिनुहोस